शनिवार, माघ १० २०७७
नेपाल वाइड
खोटाङ । माघ १०, बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्थाका लागि ग्लोबल आइएमई बैंकले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका लाभग्राहीको बैंक खाता खोल्न शिबिर सञ्चालन गरेको छ । सामाजिक सुरक्षाभत्ता वितरणलाई चुस्त र पारदर्शी बनाउनका लागि नगरपालिकासँग भएको सम्झौता अनुशार ग्लोबल आइएमई बैंकले शनिबार जालपामा एक दिने शिबिर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता लिँदै आएका लाभग्राहीको खाता खोल्न सहयोग गरेको हो ।
आगामी दिनमा सामाजिक सुरक्षा भत्ता थाप्नका लागि खाता खोल्न दिक्तेलसम्म पुग्न नसक्ने वृद्धबृद्धा, बालबालिका एवं शारीरिक रुपमा अशक्त लाभग्राहीको हितलाई ध्यानमा राखेर गाउँमै खाता खोल्ने सुविधा प्रदान गरिएको ग्लोबल आइएमई बैंक शाखा दिक्तेलका कर्मचारी युवराज खत्रीले बताए । बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता लिनका लागि गाउँमै खाता खोल्ने व्यवस्था हुँदा जालपाका करिब २५७ जना लाभग्राही लाभान्वित हुने बैंकले जनाएको छ ।
२०७६ साल साउन २२ गतेदेखि दिक्तेलमा कारोबार सुरु गरेको बैंकले गत साउनमा जालपामै पहिलो शाखा रहित सेवा सुरु गरिसकेको छ । राष्ट्रिय पञ्जिकरण विभागको गत कत्तिक २६ गतेको पत्र अनुशार बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्थाका लागि पुस ९ गते नगरपालिका र ग्लोबल आइएमई बैंकबीचमा सम्झौता भएको थियो ।
बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरणका लागि नगरपालिकाले सोही मितिमा राष्ट्रिय बाणिज्य बैंक, सालपा विकास बैंक, ज्योती बिकास बैंक र सेञ्चुरी कमर्सियल बैंकसँग पनि सम्झौता गरेको थियो । सालपा विकास बैंकमार्फत दिक्तेल, बाम्राङ, लफ्याङ, नेर्पा, चिउरीडाँडा, दोर्पाचिउरीडाँडा, पाथेका, खार्मी, नुनथला, बुईपा र विजयखर्कका लाभग्राहीलाई सामाजिक सुरक्षाभत्ता वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकमार्फत खाल्ले, सेन्चुरी कमर्सियल बैंकमार्फत निर्मलीडाँडा र ज्योति विकास बैंकमार्फत सोल्माका लाभग्राहीलाई सामाजिक सुरक्षाभत्ता वितरण गर्ने सम्झौता गरिएको नगरपालिकाले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने ५ हजार १३ जना लाभग्राही छन् ।
चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि सबै लाभग्राहीलाई नेपाल सरकारले जारी गरेको ‘सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५’ बमोजिम बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने वाध्यत्मक अवस्थाले पनि हाल धेरैजसो स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिरहेका छन् ।