Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    राष्ट्र जोगाउने एउटै आधार सर्वोच्च अदालत : कांग्रेस वरिष्ठ नेता पौडेल

    राष्ट्र जोगाउने एउटै आधार सर्वोच्च अदालत : कांग्रेस वरिष्ठ नेता पौडेल


    • शनिवार, माघ १० २०७७

    • नेपाल वाइड


    राष्ट्र जोगाउने एउटै आधार सर्वोच्च अदालत : कांग्रेस वरिष्ठ नेता पौडेल
    फायल तस्बिर

    विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश न्यायमूर्तिको हातमा रहेको बताएका छन् । प्रधानमन्त्रीले राष्ट्रपतिलाई साथलिएर जुनसुकै बेला संसद विघटन गरिदिनसक्ने भन्दै पटकपटक निर्वाचनमा जानुपर्ने वाध्यता आउने भन्दै सर्वोच्च अदालतले यसलाई रोक्ने आफ्नो अपेक्षा रहेको बताए । 

    “चुनाव गर्न मात्रै जनतामा जाने हो की विकास पनि गर्ने हो जनताको ? अदालतबाट प्रधानमन्त्री ओलीको निर्णय सदर गर्ने हो भने कार्यकारी अधिकार हातमा लिएपछि राष्ट्रपति साथमा भएपछि जे पनि गर्न पाइने भयो नेपालमा । जनताको भोटको के अर्थ,” विराटनगर विमानस्थलमा आज नेता पौडेलले भने, “भोट हाल्यो, त्यो भोट एउटा सन्की आएर फाल्दिहाल्छ । यो राष्ट्र जोगाउने एउटै आधार सर्वोच्च अदालतका न्यायमूर्ति हुनुहुन्छ भन्ने मैले अपेक्षा गरेको छु ।”

    नेता रामचन्द्र पौडेलले प्रदेश–१ मा आफ्नो पार्टीले प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए । केन्द्रमा छाया सरकार बनाएर बसेको भन्दै उनले प्रदेश–१ मा पनि अहिलेको सरकार विरुद्ध अविस्वासको प्रस्ताव आए कांग्रेसले खिलाफमा मतदान गर्ने बताए । 

    पटकपटक चुनावका नाममा अरबौं रकम खर्च भइरहेको भन्दै यसको अन्त्यका लागि संसद विघटनलाई प्रतिगामी कदम मान्दै यसलाई सच्याउने उनको भनाइ छ । “कांग्रेसको एउटै लाइन हो । प्रधानमन्त्रीको कदम प्रतिगामी हो र यसलाई हामी सच्याएरै छाड्छौं । ७० वर्ष लगाएर बनाएको संविधान बचाउनुपर्छ,” नेता पौडेलले भने, “देशको संविधान बचाउन संसदको पुनः स्थापना गर्नुपर्छ । जुन प्रधानमन्त्री आयो त्यसैले संविधान फालिदिने ?” 

    कांग्रेसमा ससंद विघटनलाई लिएर एउटै लाइन रहेको उनको दाबी छ ।  कांग्रेसले महाधिवेशन पनि गर्ने र संविधान तथा पार्टीको विधान पनि बचाउनु पर्ने उनले बताएका छन् । नेता पौडेलले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय राष्ट्रघाती भएको बताए । 

    “मेरो राजनीतिक निर्णय भन्नु हुन्छ केपी ओली । यो राजनीतिक निर्णय राष्ट्रलाई जोगाउन हो की ध्वस्त पार्न हो मेरो प्रश्न यहीँ छ ?”, उनले भने, “राष्ट्रघाती निर्णयलाई जनता र अदालतले किन मान्ने ?” संविधानलाई भत्काउन नपाइने उनको भनाइ छ । नेपाललाई अफगानिस्तानतर्फ लैजान खोजेको उनको आरोप छ ।

    सम्बन्धित समाचार