बुधवार, माघ ७ २०७७
नेपाल वाइड
खोटाङ । माघ ७, खोटाङले अखिल नेपाल फुटबल संघ (एन्फा)को स्थायी सदस्यता प्राप्त गरेको छ । २०७५ साल चैतमा अस्थायी सदस्यता दिएको एन्फाको मंगलबार सम्पन्न १९ औं साधारणसभाले खोटाङलाई स्थायी सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।
मनाङ, नवलपरासी सुस्तापुर्व र खोटाङलाई एकै साथ स्थायी सदस्यता प्रदान गरेको एन्फाले जनाएको छ । यससँगै एन्फाको जिल्ला सदस्य संख्य ४८ पुगेको छ । फुटबल संघ गठन गरी जिल्लामा फुटबलको व्यवसायीक विकास र विस्तारका लागि अनुरोध गरिए अनुशार एन्फाको स्थाई सदस्यता प्राप्त भएको खोटाङ फुटबल संघका अध्यक्ष ध्रुबविक्रम राईले बताए ।
२०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई २०७५ सालमा अस्थायी र २०७७ सालमा स्थायी सदस्यता प्राप्त भएको हो । एन्फाको सदस्यता प्राप्तीका लागि प्रयास गरेको झण्डै १६ वर्षपछि जिल्लालाई एन्फाको अस्थायी सदस्यता प्राप्त भएको थियो ।

एन्फाको स्थायी सदस्यता प्राप्त भएपछि जिल्लामा फुटबलको व्यवसायीक बिकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । एन्फाको स्थायी सदस्यता प्राप्त भएसँगै जिल्लामा फुटबल सम्वन्धी गतिविधिका लागि बार्षिक १० लाख बजेट आउने छ । लिग गेमका लागि मात्र वार्षिक ५ लाख बजेट प्राप्त हुने फुटबल संघका अध्यक्ष राईले बताए ।
यस्तै, विद्यालय स्तरिय प्रतियोगीता, रेफ्री तालिम, विभिन्न उमेर समुहको छनौट खेलमा जिल्लाको सहभागीता, खेलकुद सामग्री लगायतका सेवा सुबिधाले निरन्तरता पाउने वाताबरण बनेको संघले जनाएको छ ।
