बुधवार, माघ ७ २०७७
नेपाल वाइड
खोटाङ । माघ ७, खोटाङको दिक्तेल–काठ्माण्डौं फोटन माइक्रो भ्यान सेवा सुरु गरिएको छ । सुपर खोटाङ–भोजपुर यातायात प्रालिले दिक्तेल–काठ्माण्डौं सडकमा १९ सिट भएको फोटन माइक्रो भ्यान सेवा सुरु गरेको हो । हालसम्म बस तथा जीपमार्फत सेवा दिँदै आएको प्रालिले बुधबार बिहानदेखि फोटन माइक्रो भ्यान सेवा सुरु गरेको हो ।
दिक्तेलबाट दैनिक बिहान ६ बजे र काठमाडौँबाट दैनिक बिहान ६ बजे छुट्ने गरी फोटन माईक्रो भ्यान सेवा सुरु गरिएको प्रालिका अध्यक्ष आइतलक्ष्मी राईले बताईन् । फोटन माइक्रो भ्यान सेवा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले मंगलबार उद्घाटन गरेका थिए ।
पहिलो चरणमा फुडन कम्पनीका १० वटा वटा सुपर फोटन माईक्रो भ्यान व्यवस्था गरेर सेवा थालिएको प्रालिले जनाएको छ । हिटर, कुलरसँगै जीपीएल सिष्टम, एलसीडी मनिटर लगायतका सुविधा रहेको फोटन माइक्रो भ्यान सेवा यात्रुका लागि आनन्ददायी यात्रा हुने दाबी गरिएको छ ।
दिक्तेल–काठ्माण्डौं एकतर्फी यात्राका लागि जीपमा प्रतिव्यक्ती १ हजार चार सय ५० र बसमा एक हजार दुई सय एकतर्फी भाडा निर्धारण गरिएकोमा फोटन माइक्रो भ्यानका लागि एक हजार छ सय एकतर्फी भाडा निर्धारण गरिएको छ ।
पहिलोपल्ट २०६४ साल पुस २० गते मनाङ एयरको हेलीकोप्टरमार्फत बा १ ख १४२० र १४२२ नम्बरको आइसर ट्रक भित्र्याएर यातायात सेवा सुरु गरिएको जिल्लामा क्रमशः यातायतका सवारी साधन भित्रिनेक्रम बढ्दै गएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गका कारण पछिल्लो समय खोटाङ–काठ्माण्डौं सडक यात्रा सहज बनेको हो ।