शुक्रवार, माघ २ २०७७
नेपाल वाइड
खोटाङ । माघ २, कृषिविज्ञ मदन राईले ५० लाख मान्छेको पिसावलाई मलको रुपमा प्रयोग गर्न सके वार्षिक ३ करोड ६० लाख केजी अन्न उत्पादन गर्न सकिने बताएका छन् । कृषिविज्ञ राईले हाल काठ्माण्डौं उपत्यकामा रहेका ५० लाख जनसंख्याबाट दैनिक सरदर ५० देखि ७० लाख लिटरका दरले उत्सर्जन हुने पिसावलाई मलका रुपमा प्रयोग गर्न सके १८ लाख रोपनी जग्गालाई ढाक्ने र प्रतिरोपनी दुई सय केजी अन्न उत्पादन हुँदा पनि वार्षिक ३ करोड ६० लाख अन्न उत्पादन गर्न सकिने बताएका हुन् ।
५० लाख जनसंख्याको पिसाव पखाल्न मात्र दैनिक करिब १० करोड लिटर पानी प्रयोग भइरहेको भन्दै कृषिविज्ञ राईले सामाजिक सञ्जालमार्फत पिसावलाई मलका रुपमा प्रयोग गर्ने विधि अपनाउन सके उपत्यकामा भइरहेको खानेपानीको हाहाकार कम गर्न टेवा पुग्ने सुझाव दिएका छन् ।
‘काठ्माण्डौं खाल्डोमा झण्डै ५० लाख मानिसबाट दिनमा सरदर ७ पटक पिसाव गर्दा कम्तीमा ५० र बढिमा ७० लाख लिटर पिसाव उत्सर्जन हुन्छ । यो भनेको कम्तीमा ५ हजार टन अर्थात ५ सय ट्याङकर पिसाव हो । यत्तीका पिसावले ५ हजार रोपनी जमिनलाई अर्गानिक मल पुग्छ ।
यो ५ हजार टन पिसावमा २५ हजार केजी नाईट्रोजन अर्थात ५५ हजार केजी यूरिया बराबर अर्गानिक मल पाइन्छ,’ कृषिविज्ञ राईले लेखेका छन्, ‘एकदिन बराबरको पिसावले ५ हजार रोपनी खेतीलाई शुद्ध अर्गानिक मल प्राप्त हुन्छ भने ३६५ दिनको २ करोडभन्दा बढि केजीको मलले १८ लाख रोपनी ढाक्न सक्छ ।
एक रोपनीमा २ सय केजी मात्र अन्न उब्जनी भयो भने १८ लाख रोपनीमा ३ करोड ६० लाख केजी अन्न प्राप्त हुन्छ । मूल्या आफै निकालौं ।’
पिसाव पखाल्नमा प्रयोग गरिएका कारण पनि उपत्यकामा खानेपानीको हाहाकार हुन बल पुगेको विषयलाई धेरैले बुझ्न नसकेको कृषिविज्ञ राईको भनाई छ ।
पिसावलाई संकलन गरेर मलका रुपमा प्रयोग गर्ने उपाय नअपनाउँदा एकैदिन १० करोड लिटर पानी पिसाव पखाल्नमै सकिने गरेको उनको भनाई छ । उनले पिवासको उचित व्यवस्थापन अभावका कारण पनि बागमतीमा फोहोरमैला बढेको बताएका छन् । पिसावलाई मलका रुपमा उपयोग गर्न सके यूरिया मलको हाहाकार भयो भनिरहन नपर्ने उल्लेख गरेका छन् ।
‘५० लाख मान्छेले दैनिक ७ पटक पिसाव फेर्दा काठ्माण्डौंमा एकै दिन करिव १० करोड लिटर पानी पिसाव पखाल्नमा सकिन्छ,’ उनले लेखेका छन्, ‘पानीको हाहाकार र यूरियाको हाहाकार मच्याउनेले बागमतीमा झन् ठूलो हाहाकार मच्च्याएको बुझेका छैनौं ।’ स्वयं कृषिविज्ञ राईको पहलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम (शुभद्रा–मदन) फाउण्डेसनले समेत मानव मलमुत्रलाई पुःनप्रयोगमा ल्याउने अभ्यास गरिरहेको छ ।
फाउण्डेसनका आवासीय शिक्षक/विद्यार्थीको मलमुत्रलाई संकलन गरेर तरकारी लगायतका कृषिजन्य उत्पादनमा कम्पोष्टमलकारुपमा उपयोग गर्ने गरिएको छ । विद्यार्थीलाई ‘कुटोदेखि कम्प्यूटर’ चलाउनेसम्मको जीवनोपयोगी शिक्षाको अभ्यासमा सहभागी गराउँदै आएका कृषिविज्ञ राई वातावरण शिक्षा अन्तरगत मानव मलमुत्रलाई उपयोग गरेर कृषि उत्पादन बढाउनु पर्छ भन्ने अभियान्ता पनि हुन् ।