शुक्रवार, माघ २ २०७७
नेपाल वाइड
खोटाङ । माघ २, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले अस्थायी कोभिड अस्पतालबाट रेबिज विरुद्धको खोप सेवा उपलव्ध गराउने तयारी गरेको छ । कुकुर, स्याल जस्ता जनावरले टोकेको बेला रेविज विरुद्धको खोप लगाउनका लागि काठ्माण्डौं, ओखलढुंगा वा जिल्ला अस्पताल दिक्तेल पुग्नुपर्ने बाध्यता अन्त्यका लागि नगरपालिकाले स्वास्थ्यचौकी दुर्छिममा स्थापना गरिएको अस्थायी कोभिड अस्पतालबाट एण्टी रेबिज विरुद्धको खोप सेवा उपलव्ध गराउने तयारी गरेको हो ।
संघीय सरकारले तीन महिनासम्म आर्थिक सहयोग गर्नेगरी स्थापना गरिएको अस्थायी कोभिड अस्पताललाई नगरपालिकाको श्रोत साधनबाट स्थायी रुपमा निरन्तरता दिने तयारी गरिएकाले रेबिज विरुद्धको खोप सेवा थप गरिएको हो । नगरपालिकाको पहलमा सामान्य अस्पताल सरह निरन्तरता पाउने अस्थायी कोभिड अस्पतालमा एक जना एमबिबिएस डाक्टर कार्यरत भएकाले रेबिज विरुद्धको खोप सेवा प्रवाह गर्ने तयारी गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो ।
नगर कार्यपालिकाको सोही निर्णय अनुशार जिल्ला अस्पतालसँगको सहकार्यमा एन्टी रेबिज भ्याक्सिन सेवा उपलव्ध गराउने तयारी पुरा भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बिहिबार जिल्ला अस्पतालबाट एन्टी रेबिज भ्याक्सिनको ५० डोज बुझिसकेका छन् ।
नगरपालिकामा स्थापना गरिएको अस्थायी कोभिड अस्पतालमा एमबिबिएस डाक्टर कार्यरत रहेको अवस्थामा एन्टी रेबिज भ्याक्सिन उपलव्ध गराउनका लागि महामारी रोग केन्द्र काठ्माण्डौं टेकुमा पत्राचार गरेपछि आगामी दिनमा प्रदेशबाट जिल्ला अस्पतालमार्फत नगरपालिकालाई ५० डोज एन्टी रेबिज भ्याक्सिन नियमित प्राप्त हुने नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक घिमिरेले बताउनुभयो । यसअघि ऐसेलुखर्क गाउँपालिकाले गत बैसाखदेखि नै प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिज विरुद्धको खोपको व्यवस्था गरिसकेको छ ।