बुधवार, पौष २९ २०७७
नेपाल वाइड
खोटाङ । पुस २९, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा कोभिड–१९ का कारण बन्द भएको खेलकुद प्रशिक्षण सुचारु गराइएको छ । कोभिड–१९ का कारण नगरपालिकामा झण्डै नौ महिनादेखि बन्द रहेको सितोरियो कराते र फुटबलको प्रशिक्षण पुःन सुचारु गराइएको हो ।
कोरोना कहरका कारण गत चैत ५ गतेदेखि बन्द रहेको सितोरियो कराते र फुटबलको प्रशिक्षण पुस १ गतेदेखि सुचारु गराइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । जिल्लामा क्रमशः कोरोना संक्रमित भेटिन छाडेको तथा कोरोना महामारीको अशर कम हुँदै गएको भन्दै नगरपालिकाले अवरुद्ध खेलकुद प्रशिक्षणलाई सुचारु गराएको हो ।
विद्यालयस्तरदेखि नै विद्यार्थीलाई खेलकुलप्रति आकर्षित गर्दै विभिन्न विद्याका क्षमतावान र योग्य खेलाडी उत्पादनका लागि नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ देखि प्रशिक्षक नियुक्ती गरेर फुटबल र सितोरियो करातेको प्रशिक्षण सुरु गरेको थियो ।
नगरपालिकाले नियुक्ती गरेको प्रशिक्षकले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित दुर्छिम मावि र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित महेन्द्रोद्धय माविमा सितोरियो कराते तथा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा फुटबलको प्रशिक्षण कक्षा सञ्चालन गरिरहेको छ । दुर्छिममा ७० जना र महादेवस्थानमा ४५ जनाले सितोरियो करातेको प्रशिक्षण लिइरहेका छन् ।

यस्तै, च्यास्मीटारमा ३५ जनाले फुटबलको प्रशिक्षण लिइरहेको नगरपालिकाले जनाएको छ । फुटबल र करातेको व्यवसायीक बिकासका लागि नगरपालिकाले फुटबल प्रशिक्षकमा सागर राई र सितोरियो करातेको प्रशिक्षकमा मिलन कसजूलाई नियुक्ती गरेको छ ।
खेल प्रशिक्षक नियुक्ती गरेसँगै नगरपालिकामा २०७६ साल माघ १० गतेदेखि खेल प्रशिक्षण सुरु गरिएको हो । नगरपालिकाभित्र खेल क्षमता भएका प्रतिभाको पहिचान गर्दै क्षमता अभिबृद्धिका लागि नगरपालिकाले फुटबल र सितोरियो करातेका खेलाडीको प्रशिक्षक नियुक्ती गरेको मेयर राईले बताए ।