Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जव महालेखाको टोली गाउँपालिका पुग्यो .......

    जव महालेखाको टोली गाउँपालिका पुग्यो .......


    • सोमवार, पौष २७ २०७७

    • नेपाल वाइड


    जव महालेखाको टोली गाउँपालिका पुग्यो .......
    लेखा परिक्षणका लागि आएको महालेखा परिक्षकको टोलीसँग छलफल गर्दै दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई लगायत

        खोटाङ । पुस २७, स्थानीय तहलाई आफुलाई पायक पर्ने स्थानमा बोलाएर लेखा परिक्षण गर्दै आएको महालेखा परिक्षकको टोली गाउँपालिकामै पुगेपछि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले खुसी व्यक्त गरेका छन् । सम्वधित स्थानीय तहमा पुगेर लेखा परिक्षण गर्नुपर्ने महालेखाको टोलीले गत वर्ष आफुलाई पायक पर्ने स्थानमा बोलाएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष राईले अस्वीकार गरेका थिए ।

        ‘महालेखाले बोलाएको ठाउँमा दिप्रुङ चुईचुम्मा गाउँपालिका नजाने र गाउँपालिकामा महालेखाको टोली नजाने’ अडानकाबिच गत वर्ष पहिलो चरणमा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखा परिक्षण छुटेको थियो । गाउँपालिकासँग असमझदारी सिर्जना भएपछि गत वर्ष महालेखा परिक्षकको कार्यालयका निर्देशक घनश्याम अधिकारी नेतृत्वको टोली जिल्लाका १० स्थानीय तहमध्ये ९ स्थानीय तहको मात्र लेखा परिक्षण गरेर फर्किएपछि पुःन महालेखाबाट आएको अर्को टोलीले दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखा परिक्षण गरेको थियो ।

        गत वर्ष खोटेहाङ गाउँपालिकाको खोटाङबजारमा कागजात ल्याउन भनिए पनि दिप्रुङ चुईचुम्मा गाउँपालिकाले भने आफ्नै कार्यालयमा आएर लेखा परिक्षण गर्नुपर्ने अडान लिएको थियो । यस पल्ट पुस २५ गते दिप्रुङ चुईचुम्मा गाउँपालिका पुगेको महालेखाको टोलीले धमाधम लेखा परिक्षण गरिरहेको छ ।

        गाउँपालिका, वडा कार्यलयको योजना, बजेट वा जनप्रतिनिधिप्रति कुनैपनि गुनासो भए महालेखा परिक्षकको टोलीलाई उपलव्ध गराएर भ्रष्टाचार रहित समाज निर्माणका लागि सहयोग गर्न गाउँपालिका अध्यक्ष राईले आग्रह गरेका छन् । ‘अत्यन्तै खुसी लागेको छ । हामीले गत वर्ष उठाएको बिषय यस वर्ष स्थापित भएको छ । लेखा परिक्षण भनेको विल भर्पाईको परिक्षण मात्र हैन, आवश्यक पर्दा योजनाको स्थलगत अनुगमन पनि हुनुपर्छ ।

        त्यही कुरा आज स्थापित भएको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘गाउँपालिका, वडा कार्यलय, जनप्रतिनिधि प्रति कुनै गुनासो छ भने महालेखा परिक्षकको टोलीलाई उपलब्ध गराई भष्ट्राचाररहित समाज निर्माण गर्न सहयोग गर्नहुन सबैलाई अनुरोध गर्दछु ।’ यसपल्ट महालेखाको टोलीले जिल्लाका केही बाहेक अधिकांश स्थानीय तहमै पुगेर लेखा परिक्षण गरिरहेको छ ।

        गत वर्ष दिक्तेलस्थित कोलेनिकाको कार्यालयबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपीलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकाले सार्वजनिक लेखा परिक्षण गराएका थिए । सडकको सहज पहुँचका कारण हलेसी तुवाचुङ नगरपालिकाको भने कार्यालयमै गएर लेखा परिक्षण गरिएको थियो ।

        यस्तै, खोटाङबजारबाट खोटेहाङ, जन्तेढुंगा र बराहपोखरी गाउँपालिकाको लेखा परिक्षण गरिएको थियो । महालेखा परीक्षकको टोलीले स्थानीय सरकारलाई कागजातको पोको बोकाएर पायक पर्ने स्थानमा बोलाएर लेखा परीक्षण गर्दा पारदर्शीता कायम नहुने दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष राई बताउँछन् ।

        गाउँपालिकाको कार्यालयभन्दा बाहिर लेखा परिक्षण गराउँदा श्रेष्ता हेर्न सकिने भए पनि श्रेष्तामा उल्लेख भए अनुशारको योजनाको प्रगती हेर्न नसकिने अध्यक्ष राईको भनाई छ । ‘४० लाखमा बाटो बनाएको श्रेष्ता हेर्न सकिन्छ तर त्यो बजेट बराबरको काम भए/नभएको श्रेष्ता हेरेर मात्र पुग्दैन ।

        सम्वन्धित ठाउँमा पुगेपछि मात्र वास्तविकता थाहा हुन्छ,’ अध्यक्ष राईले भने, ‘लेखा परिक्षण भनेको श्रेष्ता हेर्ने वा श्रेष्ता मिलाउने काम मात्र होईन । आवश्यक पर्दा स्थलगत निरिक्षण पनि गर्नुपर्छ । कमजोरी छन् भने कारबाही गर्नेसम्मको बाटो तय हुनुपर्छ ।’


    सम्बन्धित समाचार