शनिवार, पौष २५ २०७७
नेपाल वाइड
खोटाङ । पुस २५, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक कारोबार ५ करोड ७४ लाख ५४ हजार लाख नाघेको छ ।
बचत गर्ने र आयमुलक काममा लगानी गर्दै जिविकोपार्जनमा टेवा पुर्याउने उद्धेश्यले स्थानीय जनसेवा समाज नेपालको पहलमा साक्षरता कक्षामा सहभागी महिलामार्फत २०५३ सालमा स्थापना गरिएको सहकारीले आर्थिक वर्ष २०७६/०७७ मा ५ करोड ७४ लाख ५४ हजार ४६९ रुपैयाँ कारोबार गरेको हो ।
शनिबार जालपामा सम्पन्न २४ औं साधारणसभामा सहकारीको निक्षेप ३ करोड ८८ लाख ७० हजार ७७२ रुपैयाँ पुगेको, शेयर पुँजी ४४ लाख १० हजार ५५० रुपैयाँ पुगेको, ३ करोड २३ लाख ६६ हजार १५७ रुपैयाँ कर्जा लगानी गरेको र ४ करोड ५० लाख ४० हजार १५८ रुपैयाँ ऋण असुली गरेको आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा शेयर पुँजी एक करोड पुराउने लक्ष्यका साथ यसपल्टको ७ लाख ६१ हजार ८५ रुपैयाँ लाभांशलाई शेयर पुँजीमा रुपान्तरण गरिएको जनसेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए । बिना धितो एक लाखसम्म ऋण उपलव्ध गराउँदै आएको सहकारीको साधारणसभामा शेयर पुँजी वृद्धिका लागि शेयर पुँजी अभिबृद्धि कार्यायोजना पास गरिएको छ ।
‘गत वर्षसम्म प्रतिशेयरको मूल्या ११४ रुपैयाँ थियो अहिले प्रतिशेयर मूल्या १२१ रुपैयाँ पुर्याइएको छ,’ सहकारीका अध्यक्ष श्रेष्ठले भने, ‘हालसम्म प्रतिव्यक्ती एक सय कित्ता शेयर किन्नु पर्ने व्यवस्था थियो, अहिले प्रतिव्यक्ती १५० कित्ता शेयर किन्नुपर्ने व्यवस्था गरेका छौँ ।’ साधारणसभामा अध्यक्ष श्रेष्ठले सहकारीको वार्षिक प्रगती प्रतिवेदन, शेयर अभिवृद्धि कार्ययोजना र ऋण तथा वचत निती प्रस्तुत गरेका थिए ।
साधारणसभाले चालु वार्षिक वर्षको अनुमानित वजेट तथा कार्यक्रम र लेखा परिक्षण प्रतिवेदन पास गरेको छ । यस्तै, बुढेसकालको साहरा मेरो मुद्धती खाता र मेरो नानी/बावुलाई मुद्धती खाता सञ्चालन गर्ने निर्णय गरिएको सहकारीले जनाएको छ । सहकारीको साधारणसभा जालपाका वडाध्यक्ष विकास राईले उद्घाटन गरेका थिए ।
व्यापार, कृषि, पशुपालन, उद्यम, उच्च शिक्षा, प्रकोप उद्धार, घर मर्मत तथा निर्माण, काजकिरिया, उपचार लगायतका शिर्षकमा ११.५ प्रतिशतदेखि १५ प्रतिशतका दरले ऋण प्रवाह गर्दै आएको सहकारीले विभिन्न शिर्षकको बचत गर्दा ७ देखि १०.५ प्रतिशतका दरले व्याज दिँदै आएको छ ।
सहकारीले नियमित बचत, ऐच्छिक बचत, ऋण परिचालन, आवधिक बचत, स्वास्थ्य कोष, मनीट्रान्सफर लगायतका सेवा प्रवाह गर्दैआएको छ । हालसम्म जालपा, खार्मी र हौंचुरलाई कार्यक्षेत्र बनाएको सहकारीले चालु आर्थिक वर्षदेखि माक्पा र सप्तेश्वरमा समेत कारोबार सुरु गर्ने अध्यक्ष श्रेष्ठले बताए ।
२०४८ सालमा साक्षरता कक्षामा सहभागी बनेको महिलाले जनही २ रुपैयाँका दरले सुरु गरेको बचत समुहलाई २०५३ सालमा औपचारिकरुपमा सहकारी संस्थाकोरुपमा दर्ता गरिएको हो । हाल जालपा, खार्मी र हौंचुरका १०१ बचत समुहका १ हजार ३७२ शेयर सदस्य रहेको सहकारीले दैनिक ५ लाख बराबरको रेमीट्यान्स कारोबार गर्दैआएको छ ।
जालपामा जनसेवा बचत तथा ऋण सहकारी संस्थाको साँढे दुई तले भवन निर्माणको काम सुरु गरिसकिएको छ । एक तलामा कृषि उपज संकलन केन्द्र सञ्चालन गर्नेगरी सहकारीको भवन निर्माणको काम सुरु गरिएको हो । जनसेवा कृषि सहकारी संस्था र वडा कार्यालयसँगको साझेदारीमा भवन निर्माणको काम सुरु गरिएको सहकारीका अध्यक्ष श्रेष्ठले बताए ।