शनिवार, पौष २५ २०७७
नेपाल वाइड
खोटाङ । पुस २५, रोग र किराको प्रकोपका कारण खोटाङमा सुन्तला उत्पादन घटेको छ । औंसा किरा, सिट्रस ग्रिनिङ, गुमोसिस (चोप आउने) लगायतका समस्यका कारण यस वर्ष सुन्तला उत्पादनमा कमी आएको हो ।
जिल्लामा गत वर्षको तुलनामा ४९.४३ प्रतिशतले सुन्तला उत्पादन घटेको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ एबं सूचना अधिकारी देवराज गुप्ताले बताउनुभयो । गत वर्ष ७४० हेक्टरमा ६ हजार ५८६ मेट्रिक टन सुन्तला उत्पादन भएकामा आर्थिक वर्ष २०७७/०७८ मा त्यत्ती नै क्षेत्रफलमा ३ हजार ३३० मेट्रिक टन सुन्तला उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको याम्खा, लामीडाँडा, टेम्मा, चिसापानी, डम्बर्खुशिवालय, दिप्लुङ, रतन्छा, मंगलटार, सल्ले, काहुले, राजापानी लगायतका २६ भन्दा बढि वडामा व्यवसायीकरुपमा सुन्तला उत्पादन हुने गरेको छ ।
गाउँ–गाउँमा सडकको पहुँच विस्तारसँगै याम्खा, टेम्मा, चिसापानीको घोर्ले लगायतका धेरैजसो किसानको बगानमा उत्पादन भएका सुन्तला सिधै ठेकेदारमार्फत तराई निर्यात हुन थालेको छ ।
सुन्तला खेतीबाट राम्रो आम्दानी गर्ने सम्भावना भएपनि सरकारी निकायबाट उचित सहयोग पाउन नसकेको याम्खाका कृषक रामबहादुर कुँवरले बताउनुभयो ।