शुक्रवार, पौष २४ २०७७
नेपाल वाइड
खोटाङ । पुस २४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोटाङका तीन स्थानीय तहलाई आधारभुत अस्पताल स्थापना एबं स्तरोन्नतीका लागि स्वास्थ्य संस्था छनौट गर्न र आवश्यक जग्गा व्यवस्थाका लागि पत्राचार गरेको छ ।
५ शैया, १० शैया र १५ शैयाको आधारभुत अस्पताल स्थापना एबं स्तरोन्नतीका लागि मन्त्रालयको नीति तथा योजना शाखाले आगामी फागुन मसान्तसम्ममा कार्यपालिकाको बैठकबाट अस्पतालकारुपमा स्तरोन्नती गरिने स्वास्थ्य संस्था छनौट गरी जिल्ला समन्वय समितिको सिफारिस सहित पठाउन र अस्पताल निर्माणका लागि तोकिएको मापदण्ड बमोजिमको जग्गा व्यवस्थापन गर्न भनेको छ ।
जिल्लाका १० स्थानीय तहमध्ये मन्त्रालयले खोटेहाङ गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र बराहपोखरी गाउँपालिकालाई अस्पतालकारुपमा स्तरोन्नती गरिने स्वास्थ्य संस्था छनौट गर्न र आवश्यक जग्गा व्यवस्था गर्न पत्राचार गरेको हो ।
तथ्यांक अधिकृत सूर्यबहादुर खड्काले जारी गरेको पत्रमा अस्पताल स्तरोन्नतीका लागि स्वास्थ्य संस्था छनौट गर्ने र जग्गा व्यवस्था गर्ने स्थानीय तहलाई आर्थिक वर्ष २०७८/०७९ मा भवन निर्माणका लागि बजेट उपलव्ध गराउने तथा चालु आर्थिक वर्ष लागत सहभागीतामा डिपिआरका लागि बजेट पठाउने उल्लेख छ ।
हालसम्म अस्पताल नभएका प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको निती अनुशार गत मंसिर १५ गते हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा १५ शैयाको, रावाबेँसी गाउँपालिकामा १० शैयाको तथा मंसिर २३ गते केपिलासगढी गाउँपालिकामा १५ शैयाको अस्पताल भवन शिलान्यास गरि सकिएको छ ।
चालु आर्थिक वर्ष ‘भूगोल र जनसंख्याको आधारमा हरेक स्थानीय तहमा ५ देखि १५ शैयाको आधारभुत अस्पताल स्थापना तथा स्तरोन्नती गर्ने’ नेपाल सरकारको नीति तथा कार्यक्रम अनुशार मन्त्रालयले एकैसाथ देशभरका २५९ वटा स्थानीय तहलाई अस्पतालकारुपमा स्तरोन्नती गरिने स्वास्थ्य संस्था छनौट गर्न र जग्गा व्यवस्था गर्न भनेको छ ।
मन्त्रीस्तरको पुस १२ गतेको बैठकले हालसम्म अस्पताल नभएका स्थानीय तहमा आगामी आर्थिक वर्ष आधारभुत अस्पताल निर्माण कार्य प्रारम्भ गर्नेगरी आवश्यक विवरण माग गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । रावाबेँसी गाउँपालिकामा भने स्वास्थ्यचौकी खार्पालाई नै १० शैयाको अस्पतालमा रुपान्तरण गरिने छ ।
यस्तै, साकेला गाउँपालिकाको रतन्छा स्वास्थ्यचौकीलाई ५ शैयाको अस्पतालमा स्तरोन्नती गर्नेगरी सरकारले बजेट पठाएको छ । साकेलामा भने अस्पतालको भवन शिलान्यास गर्न बाँकी छ । स्थानीय तहमा अस्पताल बन्ने चर्चाले नागरिकमा उत्साह जगाएको छ ।