शुक्रवार, पौष २४ २०७७
नेपाल वाइड
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी नियुक्त भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको २४ पुस (शुक्रबारको) महानिर्देशक स्तरीय निर्णयले तिवारीलाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।
यसअघि देवेन्द्र केसी ३ मंसीरमा उमेरहदका कारण अनिवार्य अवकासमा गएपछि रिक्त रहेको विमानस्थलको महाप्रबन्धकमा तिवारी नियुक्त भएका छन् । तिवारीले शुक्रबार नै महाप्रबन्धक नियुक्तिको पत्र बुझिसकेको भएपनि औपचारिक रूपमा पदभार भने आइतबारदेखि मात्रै लिने भएका छन् ।
कोभिडको जोखिम करीब दुई वर्ष रहने अनुमान गरिएको र सोही अनुसार विमानस्थलमा समयानुकुल उपयुक्त प्रविधि जडान गरेर यात्रु सेवा दिने कामलाई प्राथमिकता दिने नवनियुक्त महाप्रवन्धक तिवारीले बताए । तिवारीले कोभिड महामारीपछिको सामान्य स्थितिमा हुने हवाई यात्रुको चाप धान्ने गरी अहिलेदेखि नै विमानस्थलको क्षमता विस्तार तथा सुदृढीकरणमा लाग्ने पनि बताए ।
हवाई यात्रुको सेवा र सुविधाको लागि काम गर्ने र विमानस्थलबाट दिइने सेवालाई चुस्त दुरुस्त बनाउने आफूले काम गर्ने पनि बताएका छन् । त्रिभुवन विमानस्थलको सुधारका लागि दुई वर्षको रणनीति बनाएर काम गर्ने र उपयुक्त प्रविधिको प्रयोग गर्ने पनि तिवारीले बताए ।
विमानस्थलमा स्वास्थ्य सेवाको स्तरोन्नती, स्तरीय यात्रु सेवा तथा सूचना प्रदान, विमानस्थलको क्षमता विस्तार, विमानस्थलको स्तरीकरण, सुरक्षा मापदण्डको परिचालन, व्यवस्थापन कार्यमा सुधारसहितका काम गर्न सकिने पनि तिवारीले बताएका छन् ।