शुक्रवार, पौष २४ २०७७
नेपाल वाइड
खोटाङ । पुस २४, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा आयोजित अन्तर वडास्तरिय प्रथम च्यालेञ्ज कप फुटबल प्रतियोगीताको उपाधि टेम्के मैयूँ गाउँपालिका–५ खावा भोजपुरले जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा साकेला गाउँपालिका–२ रतन्छालाई १–० गोल अन्तरले पछि पार्दै खावाले अन्तर वडास्तरिय प्रथम च्यालेञ्ज कप फुटबल प्रतियोगीताको पहिलो उपाधि उचालेको हो ।
हारसँगै रतन्छाले उपविजेताको पुरस्कारमा चित्त बुझाउनु परेको छ । खोटाङ र भोजपुरका गरी २३ टिमले प्रतिष्पर्धा गरेको प्रतियोगीतामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा र केपिलासगढी गाउँपालिका–४ बाक्सिला सेमीफाइनलिष्ट बनेको छ ।
गत पुस १८ गते उद्घाटन गरिएको प्रतियोगीताका विजेताले नगद १ लाख १ हजार १११ र उपविजेताले ५५ हजार १११ का साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । यस्तै, दुई वटा सेमीफाइनलिष्ट टिमलाई प्रतिटिम नगद २० हजार १११ रुपैयाँ प्रदान गरिएको आयोजक नेर्पा स्पोर्टस् क्लवले जनाएको छ ।
प्रतियोगीतामा रतन्छाका विनोज राईले बेष्ट प्लेयर र बाक्सिलाका सोनित राईले हाइस्कोररको उपाधि जितेका छन् । बेष्ट प्लेयर तथा हाइस्कोररलाई जनही तीन हजार एक सयका साथमा ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको प्रतियोगीताका संयोजक बिरेन गुरुङले बताए । यस्तै, खावाका अरुण राईले वेष्ट किपर, खावाकै कल्याण राईले वेष्ट डिफेण्डर, खावाकै सप्तराज राईले वेष्ट मिडफिल्डर, र प्रशान्त राईले बेष्ट फरवार्ड र राजन राईले बेष्ट कोचको उपाधि जितेका छन् ।
उनीहरुलाई जनही दुई हजार एक सयका साथमा ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको क्लवले जनाएको छ । प्रतियोगीताका विजेता टिम तथा खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, नेर्पाका वडाध्यक्ष माधव राई, सोल्माका वडाध्यक्ष हर्क खत्री, जिल्ला फुटबल संघका अध्यक्ष ध्रुबविक्रम राई लगायतले पुरस्कार प्रदान गरेका छन् ।
कोभिड–१९ को महामारीका कारण वर्ष दिनसम्म खेलकुद गतिविधि ठप्प भएको अवस्थामा जिल्ला फुटबल संघको संयोजनमा नेर्पा स्पोर्टस् क्लवले अन्तर वडास्तरिय प्रथम च्यालेञ्ज कप गरेको हो । पुरस्कार वितरणका क्रममा खेल मैदान निर्माणका लागि करिब १० रोपनी जग्गा निःशुल्क प्रदान गर्ने किसुकुमारी गुरुङ, अमृता गुरुङ, पूर्णकुमारी गुरुङ र सिता गुरुङलाई सम्मान गरिएको छ ।