बिहिवार, पौष २३ २०७७
नेपाल वाइड
गैँडा सिकार गरेको तथा खाग तस्करको प्रमाणित भएका एक जना मुद्दा चलेको १५ वर्षपछि पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउपर्नेमा माडी नगरपालिका– ५ का ४८ वर्षीय शनिचरा महतो छन् । अधिकारीका अनुसार उनलाई निकुञ्ज प्रशासनले २७ मंसीरमा पक्राउ गरेको हो ।
२०६२ असारमा गैँडा मार्ने क्रममा प्रत्यक्ष संलग्न भएको आरोपमा उनीविरुद्ध त्यही वर्ष १२ असोजमा मुद्दा दायर गरिएको थियो । मुद्दाको फैसला २० पुस २०६४ मा हुँदा उनलाई १५ वर्ष कैद र रु.१ लाख जरिवाना तोकिएको थियो ।
फरार रहेका अवस्थामा माडीको पिपरियाबाट उनलाई पक्राउ गरिएको हो । उनी २०६२ सालमा निकुञ्जको भित्री इलाका भालुटापुमा गैँडा मार्ने क्रममा प्रत्यक्ष संलग्न भएको निकुञ्जले दाबी गरेको छ । उनले भारतबाट अत्याधुनिक हतियार खरिद गरी गैँडा मार्ने कार्यमा सहयोग गर्नुका साथै खाग बिक्रीमा संलग्न भएको पाइएको निकुञ्जले जनाएको छ ।
महतो पक्राउ पर्नुलाई निकुञ्ज अधिकारीले ठूलो सफलताका रुपमा लिएका छन् । पछिल्लो समय निकुञ्जमा चोरी शिकारी बढेको छ । साउनयता तस्करले मारेका चार गैँडा फेला परेपछि निकुञ्जमा निगरानी बढाइएको छ ।