बिहिवार, पौष २३ २०७७
नेपाल वाइड
खोटाङ । पुस २३, नेपाल विद्यार्थी संघ खोटाङले संसद विघटन विरुद्धको बिरोध प्रदर्शनलाई वृहत बनाउन आफनो कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको छ । संसद विघटनको विरुद्ध नेपाली कांग्रेसले आगामी पुस २५ गतेका लागि तोकेको प्रदेश निर्वाचन क्षेत्र स्तरिय, माघ ३ गतेका लागि तोकेको पालिका स्तरिय तथा माघ ८ गतेका लागि निर्धारण गरेको वडा स्तरिय वृहत विरोध प्रदर्शनलाई सफल बनाउनका लागि नेविसंघले आफ्नो प्रतिनिधि परिचालन गर्ने निर्णय गरेको हो ।
बुधबार वीपी स्मृति भवन दिक्तेलको सभाहलमा सम्पन्न भएको बैठकले संसद विघटनको विरोधमा कांग्रेसले घोषणा गरेको विरोधसभालाई भव्य र सफल बनाउनका लागि प्रतिनिधि परिचालन गर्ने निर्णय गरेको नेविसंघ खोटाङका सभापति राजकुमार बस्नेतले बताए ।
संसद विघटनको विरोधमा नेविसंघ आफैले पनि दिक्तेलमा राँके जुलुस सहित कोणसभा, राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन लगायतका बिरोधका कार्यक्रम गर्दैआएको छ । बैठकले जिल्लामा नेविसंघको संगठन विस्तारको कामलाई गति दिने निर्णय गरेको छ ।
यस्तै, नेविसंघका जिल्ला सदस्य, पालिका तथा मावि इकाईमा आवद्ध कार्यकर्तालाई प्रशिक्षणको व्यवस्था गर्ने निर्णय समेत गरिएको सभापति बस्नेतले बताए ।
बैठकमा नेविसंघका वरिष्ठ उपाध्यक्ष नइन्द्र राई, जीवन खत्री र गोमा राई, सचिव तेजिन्द्र घिमिरे र राजदेश राई, सह–सचिव मोतीचन्द्र राई र किसन भुजेल, कोषाध्यक्ष ईन्दिरा दाहाल, संगठन विभाग प्रमुख रोहित राई लगायतको उपस्थिति रहेको थियो ।