शुक्रवार, पौष १७ २०७७
नेपाल वाइड
खोटाङ । पुस १७, खोटाङको जन्तेढुंगा गाउँपालिकामा प्रथम सुन्तला महोत्सवको तयारी पुरा भएको छ । ‘कृषि र उत्पादन विकासको आधार, सुन्तला उत्पादन गरिबी निवारण पुर्वाधार’ भन्ने नारासहित शनिबार र आइतबार सञ्चालन हुने सुन्तला महोत्सवको तयारी पुरा भएको हो । घोर्लेमा उत्पादन हुने सुन्तलाको प्रचार–प्रसार गर्दै सुन्तला कृषकको प्रोत्साहनका लागि महोत्सवको आयोजना गरिएको हो ।

जन्तेढुंगा गाउँपालिकाको मूख्य प्रायोजन, ग्रामिण विकास तथा अनुसन्धान केन्द्र, श्रृजनशिल आमा समुह र तिनतले कोलाताङ सामुदायीक वन घोर्लेको सह–प्रयोजनमा स्थानीय प्रगतिशिल कृषक समुह र सिलिचोङ साँस्कृतिक परिवार घोर्लेको आयोजनामा सुन्तला महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा सुन्तलाको जुस, सुन्तलाको वाईन, स्थानीय कलाकारको साथमा विविध साँस्कृतिक कार्यक्रम, साकेला शिली प्रदर्शन, लोकदोहोरी तथा नृत्य प्रतियोगीता, राई पुमाहरुको धार्मिक तथा साँस्कृतिक वस्तुहरुको प्रदर्शनीको कार्यक्रम राखिएको गाउँपालिकाले जनाएको छ ।

सुन्तला महोत्सव प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गर्ने कार्यक्रम रहेको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंकर राईले बताए । घोर्ले जन्तेढुंगा गाउँपालिकाको सुन्तला उत्पादन हुने प्रमुख क्षेत्र हो । घोर्लेबाट बार्षिक करोड बढिको सुन्तला निर्यात हुने गरेको छ ।


