Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    १५ माघदेखि २१ माघसम्म मतदाता नामावली अद्यावधिक गरिने

    प्रतिनिधिसभा निर्वाचन तयारीमा निर्वाचन आयोग

    प्रतिनिधिसभा निर्वाचन तयारीमा निर्वाचन आयोग


    • शुक्रवार, पौष १७ २०७७

    • नेपाल वाइड


    प्रतिनिधिसभा निर्वाचन तयारीमा निर्वाचन आयोग
    फायल तस्बिर

          काठमाडौं । निर्वाचन आयोग २०७८ वैशाखका लागि घोषित प्रतिनिधिसभा निर्वाचन तयारीमा जुटेको छ । आगामी १५ माघदेखि २१ माघसम्म देशभरका स्थानीय तहमा आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न लागेको हो । निर्वाचन मिति घोषणापछि आयोगले गत ६ पुसबाटै मतदाता नामावली संकलन कार्य भने स्थगन गरिसकेको छ ।

         आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार ६ पुसअघि नामावलीमा दर्ता भएकाको अद्यावधिक प्रक्रिया सुरु गरिएको छ । गत ५ पुससम्म १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा दर्ता गराएका मतदाताले वैशाखका लागि तय प्रतिनिधिसभा निर्वाचन मतदान प्रक्रियामा सहभागी हुन पाउनेछन् ।

          आयोगले १५ माघदेखि देशभरका सबै स्थानीय तहमा रहेका केन्द्रमा गएर अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्ने छ । मतदातालाई आफ्नो स्थानीय तहका केन्द्रमा हुने अद्यावधिक कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ । सो अवधिमा मतदाता नामावलीमा भएको विवरणमा त्रुटि भएको पाइए सच्याउन सकिने भन्दै आयोगले नामावलीमा हेरेर रुजु गर्न भनेको हो ।

        यसैगरी, मृत्यु भएका वा बसाइसराई गएका वा दोहोरो नाम रहेका मतदाताको नाम हटाउन सूचना दिन तथा झुठ्ठा विवरण दिई कोही कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए त्यसविरुद्ध उजुर दिन पनि आयोगले आग्रह गरेको छ ।

        आयोगले दुई चरणमा गरी हुने निर्वाचनका लागि करीब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । यसअघि, २०७४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि ७ अर्ब ७५ करोड ९५ लाख ४१ हजार खर्च लागेको जनाइएको छ ।

     सरकारले १७ र २७ वैशाख २०७८ मा दुई चरणमा गर्नेगरी प्रतिनिधिसभा निर्वाचन घोषणा गरिसकेको छ ।

    सम्बन्धित समाचार