बिहिवार, पौष १६ २०७७
नेपाल वाइड
खोटाङ । पुस १५, खोटाङको खोटेहाङ गाउँपालिकाको ‘पालिका गान’ सार्वजनिक गरिएको छ । ‘समन्वयमा आधारित खोटेहाङ, दिगो विकास र संवृद्धि हाम्रो अभियान’ बोलको गीत बुधबार गाउँपालिका अध्यक्ष प्रदीप राईले साउण्ड सिस्टममा प्ले गरेर पालिकाबासीलाई सुनाउँदै सार्वजनिक गरेका हुन् ।
खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीमा अस्थायी कोभिड अस्पताल एबं वडा कार्यालय उद्घाटनको अवशरमा पालिका गान सार्वजनिक गरिएको हो । ६ मिनेट लामो गीतमा गाउँपालिकाको भूःगोल, समाज, भाषा, संस्कृति, जातजाती, परम्परा, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि लगायत समग्र पक्षलाई चित्रण गरिएको छ ।

पालिका गान छनौट समितिले खोटेहाङ गाउँपालिकाकै श्रष्टा कृष्णश्री राई र इन्द्र नारथुंगेको शव्दलाई पालिका गानका रुपमा छनौट गरेको हो । संगीतकार महेश खड्काको संगीत रहेको पालिका गानलाई स्वयं खड्का लगायत अन्य गायक/गायीकाको स्वरमा रेकर्ड गरिएको छ । हरेक महत्वपूर्ण कार्यक्रमको बेलामा बजाइने पालिका गानलाई भिडियो सहित ल्याउने तयारी भइरहेको गाउँपालिका अध्यक्ष राईले बताए ।
पालिका गान निर्माणका लागि गाउँपालिकाले गीत उपलव्ध गराउन सार्वजनिक सूचनामार्फत आव्हान गरेको थियो । ६ जना श्रष्टाबाट गीत प्राप्त भएकोमा मौलिकता, शव्द संरचना, भाव लगायतका मापदण्डका आधारमा कृष्णश्री राई र इन्द्र नारथुंगेको गीत बराबर अंक सहित छानिएपछि दुई गीतलाई पुःन एकाकार गरेर पालिका गान बनाइएको हो ।

गाउँपालिका अध्यक्षको संयोजकत्वमा संगीतकार महेश खड्का र योजना शाखा प्रमुख पिएसपी राई रहेको पालिका गीत छनौट समितिले गीतको टुंगो लगाएको हो । पालिका गान सार्वजनिकीकरण कार्यक्रममा रचयिता कृष्णश्री राई र इन्द्र नारथुंगेलाई जनही १५ हजारका साथमा सम्मान–पत्र प्रदान गरिएको छ ।
यस्तै, पालिका गानका लागि गीत उपलव्ध गराउने श्रष्टा मानबहादुर खत्री, भगवतीप्रसाद शर्मा, रोशन पौडेल र अनिल घिसिङलाई जनही ५ हजारका सम्मान–पत्र प्रदान गरिएको छ । नगद एबं सम्मान–पत्र गाउँपालिका अध्यक्ष राई र उपाध्यक्ष कविता राईले प्रदान गरेका थिए ।