बुधवार, पौष १५ २०७७
नेपाल वाइड
काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाई संघले वार्षिक रुपमा प्रदान गर्दै आइरहेको वर्ष खेलाडी सम्मान पुरस्कारबाट पलिस्था कक्षपतीलाई सम्मान गरेको छ ।
पलिस्थालाई २०१९ को वर्ष खेलाडी सम्मानबाट पुरस्कृत गरिएको हो । सम्मानित कक्षपतीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले नगद ५० हजारसहित सम्मानपत्र प्रदान गरे । कक्षपतीले २०१९ मार्च ७ देखि १८ तारिखसम्म मित्र राष्ट्र थाइल्यान्डमा सम्पन्न १६औं विश्व मुवाँथाई च्याम्पियनसिप- २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै ३० केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गरेकी थिइन् ।
संघले पलिस्थालाई २०१९ को वर्ष खेलाडी घोषित गर्दै सम्मान गर्ने निर्णय गरेको थियो । तर कोभिड १९ का कारण सम्पूर्ण खेल गतिविधि बन्द भएका कारण अहिले आएर उक्त सम्मान गरिएको हो ।
यस्तै संघले २०१९ मा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १२ उत्कृष्ट खेलाडीहरुलाई खेल पोसाक (ट्रायक सुट) प्रदान गर्यो । खेलाडीहरुलाई उक्त पोसाक प्रमुख अतिथि राखेप उपाध्यक्षले वितरण गरे ।
सम्मानित हुने खेलाडीमा गुणराज रुचाल, राहुल ठोकर, रसिव जारी, विजय लामा, दिल ठोकर, अभिषेक राई, सन्दीप तामाङ, सन्तोष खत्री, शर्मिला मोक्तान, सञ्जय राई, गुनसाँग तामाङ छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राखेप उपाध्यक्ष कोइरालाले खेलाडीहरुलाई सम्मान गरेकामा संघलाई धन्यवाद प्रदान गर्दै यस्तका कार्यक्रमले खेलाडीको हौसला अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।