बुधवार, पौष १५ २०७७
नेपाल वाइड
खोटाङ । पुस १५, खोटाङको खोटेहाङ गाउँपालिकाले कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमितलाई गाउँपालिकाकै आइसोलेसनमा राखेर उपचार गर्ने व्यवस्थाका लागि खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा ५ बेडको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको हो ।
भविष्यमा १५ शैयाको पालिका स्तरिय अस्पतालमा रुपान्तरण गर्नेगरी स्थापना गरिएको अस्थायी आइसोलेसन बेड (कोभिड अस्थायी अस्पताल) बुधबार खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राई र उपाध्यक्ष कविता राईले उद्घाटन गरेका छन् ।

वर्ष दिन बित्दा पनि कोरोनाको संक्रमण दर घट्नुको सट्टा बढिरहेको अवस्थामा गाउँपालिकाले संघीय सरकारको १० लाख अनुदानमा कोभिड–१९ अस्थायी अस्पताल स्थापना गरेको हो । उद्घाटन सँगै गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष राई, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई, वडाध्यक्ष लगायतले अस्थायी कोभिड अस्पताल अवलोकन गरेका थिए ।

कोभिड अस्पताल उद्घाटनका अवशरमा स्थानीयले साकेला, धामी नाच लगायतका साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कोभिड अस्पताल उद्घाटनका क्रममा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो । असहाय र पिडितका लागि गाउँमै अस्पताल आएकामा उत्साह जगाएको स्थानीय रत्नबहादुर खत्रीले बताए ।
महामारीमा स्थापना गरिएको कोभिड–१९ अस्थायी अस्पताल नै केही समयपछि १५ शैयाको अस्पताल रुपान्तरण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिकामा उल्लेख छ ।