सोमवार, पौष १३ २०७७
नेपाल वाइड
खोटाङ । पुस १३, कोभिड–१९ को महामारीपछि महिना दिन नवित्दै खोटाङको त्रि–धार्मिकस्थल हलेसीबाट साँढे पाँच लाखभन्दा बढि भेटीघाटी संकलन भएको छ । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीमा गत मंसिर १६ गतेदेखि पुस ८ गतेसम्मको अवधिमा दर्शनार्थी तथा पर्यटकबाट ५ लाख ६४ हजार २९० रुपैयाँ भेटीघाटी संकलन भएको हो ।
कोरोना भाइरसको महामारीका कारण गत चैत ८ गतेदेखि रोक लगाइएको हलेसी गुफा (मन्दीर) प्रवेश गत मंसिर १६ गतेदेखि खुला गरिएको थियो । कोरोना महामारीका कारण झण्डै आठ महिनासम्म प्रवेश रोक लगाइएको हलेसी खुला गरिएको महिना दिन नपुग्दै पाँच लाखभन्दा बढि भेटीघाटी संकलन भएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसीको शिव–पार्वती थानबाट ३ लाख ३० हजार ५९५, बसाहा गुफामा राखिएको दानपेटीकाबाट २९ हजार ६३५ र गणेश मन्दिरमा राखिएको दान पेटीकाबाट १४ हजार ७० भेटीघाटी संकलन भएको हलेसी सूचना केन्द्रले जनाएको छ ।
यस्तै, गत चैत ६ गतेदेखि पुस ८ गतेकोबिचमा मन्दिरको प्रांगणमा राखिएको दान पेटिकामा १ लाख ८९ हजार ९९० रुपैयाँ भेटीघाटी संकलन भएको सूचना केन्द्रका प्रमुख शयन्द्र राईले जानकारी दिएका छन् । यस अवधिमा दर्शनार्थीले हलेसीमा भारु ६५० र अमेरिकन डलर १ रुपैयाँ चढाएका छन् । यस्तै, १०६.५० ग्राम चाँदी र १.३ ग्राम सुन संकलन भएको हलेसी सूचना केन्द्रले जनाएको छ ।
