Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    साकेलाको सामाजिक सुरक्षाभत्ता अनियमितता प्रकरण : अख्तियारमा पुग्यो फायल

    साकेलाको सामाजिक सुरक्षाभत्ता अनियमितता प्रकरण : अख्तियारमा पुग्यो फायल


    • सोमवार, पौष १३ २०७७

    • नेपाल वाइड


    साकेलाको सामाजिक सुरक्षाभत्ता अनियमितता प्रकरण : अख्तियारमा पुग्यो फायल
    फायल तस्बिर

         खोटाङ, पुस १३,  खोटाङको साकेला गाउँपालिकामा भएको सामाजिक सुरक्षाभत्ता चुहावट सम्वन्धी फायल अख्तियारमा पुगेको छ । एकै आर्थिक वर्ष ८७ लाखभन्दा बढि सामाजिक सुरक्षाभत्ता चुहावट भएको प्रतिबेदन सार्वजनिक भएपछि गाउँपालिका आफैले कारबाहीका लागि आइतबार सो सँग सम्वन्धित कागजातको फायल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ईटहरीलाई पठाएको हो ।

        आर्थिक वर्ष २०७६/०७७ भित्र मात्रै पाँच वडामा ८७ लाख ४१ हजार ६ सय रुपैयाँ रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक भएको केही समयपछि गाउँपालिकाले आवश्यक कारबाहीका लागि अख्तियारलाई कागजात पठाएको जनाएको छ । मृत्यु भइसकेका, कतिपय बसाई सरिसकेका तथा कतिपय हुँनै नभएका व्यक्तीको नाममा ‘फेक डकुमेन्ट’ बनाएर सामाजिक सुरक्षा भत्तामा अनियमितता भइरहेको विषय बाहिरिएपछि गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काको संयोजकत्वमा गठित छानविन समितिले एकै आर्थिक वर्ष लाखौं रकम अनियमितता भएको प्रतिबेदन सार्वजनिक गरेको थियो ।

         छानविन समितिले बुझाएको प्रतिबेदनका साथमा सफायका लागि सम्वन्धित वडासचिवले पेश गरेको कागजपत्र समेत तस्ताको तस्तै अख्तियारमा पठाइएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का (झंकार)ले बताए । सामाजिक सुरक्षा भत्ता दुरुपयोगका विषयमा गत असोज १४ गते गठित समितिले मंसिर २३ गते अन्तिम छानबिन प्रतिबेदन सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष खड्कालाई बुझाएको थियो ।

    छानबिन समितिले आर्थिक वर्ष २०७६/०७७ मा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा २० लाख ३४ हजार ४ सय, साकेला गाउँपालिका–२ रतन्छामा १२ लाख २८ हजार, साकेला गाउँपालिका–३ खिदिमामा ११ लाख ८७ हजार २ सय, साकेला गाउँपालिका–४ मात्तिममा २२ लाख ८७ हजार २ सय र साकेला गाउँपालिका–५ मात्तिमबिर्तामा २० लाख ४८ हजार सामाजिक सुरक्षाभत्ता अनियमितता भएको प्रतिबेदन सार्वजनिक गरेको छ ।

       अख्तियारले रतन्छा र मात्तिमको सामाजिक सुरक्षाभत्ता अनियमिततासँग सम्वन्धित कागजात मगाएपछि सबै वडाको कागजात पठाइएको गाउँपालिका अध्यक्ष खड्काले बताए । सुरुमा साकेला गाउँपालिका–४ मात्तिममा मृत्यु भइसकेका व्यक्तीको नाममा पनि सामाजिक सुरक्षा भत्ता चुहावट भइरहेको खबर बाहिरिएपछि न्यायिक समितिका संयोजकका हैसियतमा उपाध्यक्ष खड्काको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो ।

           साकेला गाउँपालिका–४ मात्तिममा सामाजिक सुरक्षाभत्ता चुहावट भएको विषयलाई लिएर छानबिन समिति गठन गरिए पनि समितिले गाउँपालिकाभित्रका सबै वडाको सामाजिक सुरक्षाभत्ता वितरणमा भइरहेको अनियमितताका विषयमा छानबिन गरेको थियो । साकेला गाउँपालिका–४ मात्तिममा सामाजिक सुरक्षाभत्ता चुहावट भइरहेको घट्ना बाहिरिए लगत्तै साकेला गाउँपालिका–५ मात्तिमबिर्ता र साकेला गाउँपालिका–२ रतन्छामा पनि सामाजिक सुरक्षाभत्तामा उस्तैगरी अनियमितता भइरहेको तथ्य बाहिरिएको थियो ।

         सामाजिक सुरक्षा भत्ता वितरणलाई चुस्त र पारदर्शी बनाउनका लागि गाउँपालिकाले अभियान चलाए पछि सामाजिक सुरक्षा भत्ता दुरुपयोगको फेहरिस्त क्रमशः छताछुल्ल भएको हो । गाउँपालिकाले चालु आर्थिक वर्षको दोश्रो मौचासिकदेखि बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि एसबीआई बैंकसँग सम्झौता गरिसकेको छ ।

    सम्बन्धित समाचार