बुधवार, पौष ८ २०७७
नेपाल वाइड
काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहले आज नयाँ केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिएको छ । ओली समूहले आज सातै प्रदेशको भेला गरेको हो ।
गण्डकी प्रदेशको भेलामा स्थायी कमिटी सदस्य समेत रहेका टोपबहादुर रायमाझीले प्रचण्डका कारण पार्टी यो अवस्थामा आइपुगेको आरोप लगाएका छन् । उनले अस्तव्यस्थता सिर्जना गर्ने प्रचण्डको पुरानै रोग भएको टिप्पणी गरे ।
“आफ्नो स्वार्थका लागि हरेक ठाउँमा भद्रगोल र अस्तव्यस्तता सिर्जना गर्ने प्रचण्डको रोग नै हो, त्यो त हामी भोगेर र बेहोरेर आएको हो, ’’उनले भने । प्रणाली र आन्दोलन जोगाउन ओलीले संसद् विघटन गर्नु र नयाँ जनादेशका लागि जनतामा जानुको विकल्प नै नभएको उनको दाबी थियो ।
“नयाँ जनादेशमा जाने कुरामा त प्रचण्ड-माधव समूह खुसी हुनुपर्नेमा किन अत्तालिएको ? जनतामा किन विश्वास नगरेको ? जनताको मत जितेर प्रधानमन्त्री बन्ने आँट गर्नुहोस् कमरेड प्रचण्ड,’’ रायमाझीले भने ।
त्यस्तै प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पृथ्वीसुब्बा गुरुङले सुखी नेपाली, समृद्ध नेपालको स्पष्ट नीति, खाका र दृष्टिकोणसाथ अगाडि बढेका ओलीप्रति विश्वासका साथ लाग्न आग्रह गरेका थिए ।
“समृद्धि, लोकतन्त्र र राष्ट्रवादको नायक केपी शर्मा ओली हो, ढुक्क हुनुहोस् उहाँकै नेतृत्वमा देश र जनताको सपना पूरा हुन्छ । हाम्रो विजयलाई कसैले रोक्न सक्दैन,’’ भेलामा गुरुङले ठोकुवा गरे ।
त्यस्तै नेता किरण गुरुङले आफ्नै पार्टीको नेतृत्वको सरकारविरुद्धमा अविश्वासको प्रस्ताव लग्ने र देशमा राजनीतिक अस्थिरता निम्त्याउन खोज्नेहरुको षड्यन्त्र असफल भएको बताए ।