बुधवार, पौष ८ २०७७
नेपाल वाइड
खोटाङ । पुष ८, अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) खोटाङले नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सन् २०२० मा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका प्रतिनिधिमूलक घटना प्रतिवेदन इन्सेक जिल्ला प्रतिनिधि रामधन राईमार्फत प्रस्तुत गरिएको हो ।
पुष–८ गते वुधबार प्रस्तुत प्रतिवेदनमा राज्यबाट भएको मानव अधिकार उल्लङ्घन (राजनीतिक अधिकार) का दुई घटना छन् । प्रतिवेदनमा ६ जनाको हत्या, एक वालिकाका सहित सात जना वलात्कृत भएको घटना उल्लेख छ ।
यस्तै, एक वालिका र एक महिलामा वलात्कार प्रयास भएको घटना पनि प्रतिवेदनमा समाबेश गरिएको छ । कुटपिटका दुई र धम्कीका एक गरी १८ वटा घटनालाई मानव अधिकार उल्लङ्घनको प्रतिनिधि घटनाका रुपमा उल्लेख गरिएको छ ।
हलेसी न्युज नेटवर्क प्रालिको कार्यालय दिक्तेलवजारमा सम्पन्न समीक्षा कार्यक्रममा राजनीतिक दलका नेता, अधिकारकर्मी, पत्रकार लगायतको उपस्थिती थियो । कार्यक्रममा साना–साना लाग्ने तर उल्लङ्घन भईरहने सामाजिक, साँस्कृतिक, आर्थिक लगायतका घटनाहरुलाई समेत मिहिन ढंगले उजागार गर्र्नुपर्ने सुझाव ईन्सेकलाई दिईएको छ ।
बालबालिका तथा महिलामाथि बलात्कार र घरेलु हिंसाका घटना दिन प्रतिदिन बढिरहेकाले यस्ता घटनाहरुको न्यूनिकरणमा सरोकारवाला सबैको ध्यान जानु आवश्यक रहेको हलेसी न्युज नेटवर्क प्रालिको अध्यक्ष हरिवोल आचार्यले जनाउनुभयो ।
ईन्सेकले स्थानीय तहसम्म पुगेर मानव अधिकार उल्लंघनका घटनाहरु संकलन तथा उजागार गरी सामाजिक चेतना, कानुनी उपचार तथा न्याय दिलउने कार्यमा सक्रिय हुनुपर्ने किरात राई पत्रकार संघका केन्द्रीय अध्यक्ष भीम राईको सुझाव छ ।