मंगलवार, पौष ७ २०७७
नेपाल वाइड
खोटाङ । पुस ७, नेपाल सरकारले २०७२ साल साउनमा एकैसाथ मुलुकभरका उपस्वास्थ्यचौकीलाई स्वास्थ्यचौकीमा स्तरोन्नती गर्यो तर खोटाङका दुई वटा उपस्वास्थ्यचौकी स्तरोन्नतीमा छुटे । उसबेला जिल्लाका ४९ मध्ये ४७ उपस्वास्थ्यचौकी मात्र स्वास्थ्यचौकीमा स्तरोन्नतीमा परेका थिए ।
जिल्लाकै अन्य उपस्वास्थ्यचौकीसँग मिल्दोजुल्दो नाम हुन पुग्दा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वरछितापोखरीस्थित उपस्वास्थ्यचौकी र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङस्थित उपस्वास्थ्यचौकी स्तरोन्नती हुनबाट बञ्चित भएका थिए । उपस्वास्थ्यचौकी सप्तेश्वर छितापोखरीलाई भने गाउँपालिकाले स्वास्थ्यचौकीमा स्तरोन्नती गरेको छ ।
स्वास्थ्य ऐन जारी गर्दै उपस्वास्थ्यचौकीलाई स्वास्थ्यचौकीमा स्तरोन्नती गर्ने नीति तथा कार्यक्रम ल्याएको गाउँपालिकाले उपस्वास्थ्यचौकीलाई स्तरोन्नती गरेको हो । त्रुटीवस पाँच वर्षअघि स्तरोन्नतीबाट छुट भएको उपस्वास्थ्यचौकीलाई मंगलबार दिप्रुङ गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले स्वास्थ्यचौकीमा स्तरोन्नती भएको घोषणा गरेका छन् ।
कार्यपालिकाको गत असोज ३० गते बसेको बैठकले उपस्वास्थ्यचौकीलाई स्तरोन्नती गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्य मन्त्रालयमा सप्तेश्वरछितापोखरी उपस्वास्थ्यचौकीको नाम सप्तेश्वर स्वास्थ्यचौकीसँग र दिप्लुङ उपस्वास्थ्यचौकीको नाम दिप्सुङ उपस्वास्थ्यचौकीसँग मिल्न गएपछि भएको अस्पष्टताले दुई उपस्वास्थ्यचौकीको स्तरोन्नतीबाट बञ्चित भएको थियो ।
उपस्वास्थ्यचौकी नै भए पनि स्वास्थ्यचौकी सछितापोखरीबाट स्वास्थ्यचौकी सरहकै सेवा प्रवाह भइरहेको थियो । स्वास्थ्यचौकी सरहको सेवा सुविधा प्रबाह भइरहेको भएपनि दिप्सुङ उपस्वास्थ्यचौकीले हालसम्म स्वास्थ्यचौकीको मान्यता प्राप्त गर्न सकेको छैन ।
बर्थिङ सेन्टरको भवन हस्तान्तरण
यस्तै, सप्तेश्वरछितापोखरीस्थित स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरको भवन हस्तान्तरण सँगै उद्घाटन गरिएको छ । बर्थिङ सेन्टरका लागि २०६८ सालमा तत्कालिन जिल्ला बिकास समितिको ५ लाखमा निर्माण गरिएको भवनलाई मर्मतसम्भार गरेर स्वास्थ्यचौकीलाई हस्तान्तरणसँगै उद्घाटन गरिएको हो ।
वानहर्ट वल्डवाईडको ९ लाख ४१ हजार र गाउँपालिकाको ५ लाख ४१ हजार गरी १४ लाख ८२ हजारमा मर्मत गरिएको बर्थिङ सेन्टरको भवन गाउँपालिकाकी उपाध्यक्ष सपना राईले उद्घाटन गरेकी छन् । जनशक्ती एबं प्रशुती सम्वन्धी सामग्री अभावमा लामो समयसम्म प्रयोग विहिन बनेको बर्थिङ सेन्टरको भवनलाई स्थानीय सरकार आएपछि केही समय उपस्वास्थ्यचौकीको सेवा प्रवाहका लागि प्रयोग गरिएको थियो ।
तर, गाउँपालिकाले गत वर्ष ४ लाखमा स्वास्थ्यचौकीको भवन निर्माण गरेपछि सो भवनलाई बर्थिङ सेन्टरकैरुपमा प्रयोग गरिँदै आइएको वडा सदस्य अमृत गिरीले बताए । दिप्रुङ चुईचुम्मा गाउँपालिकाका सबै ७ वडामा बर्थिङ सेन्टर विस्तार भइसकेको छ । यस्तै, गाउँपालिकाले गर्भवती भएको घरमा गर्भवतीको चित्र अर्थात गर्भवती भएको सांकेतिक चिह्न राख्ने तयारी गरेको छ । गर्भवती भएको घरमा गर्भवतीको नाम र ठेगाना सहितको गर्भवतीको चित्र राखिने गाउँपालिकाले जनाएको छ ।