मंगलवार, पौष ७ २०७७
नेपाल वाइड
खोटाङ । पुस ७, खोटाङमा निर्माणाधिन घरको पर्खालबाट लडेर गम्भीर घाईते भएका युवाको अस्पताल नपुग्दै मृत्यु भएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका एक स्थानीयको घर निर्माणकाक्रममा सोमबार लडेर गम्भीर घाईते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका २४ वर्षीय दिपेन्द्र राईको मृत्यु भएको हो । उपचारका लागि काठ्माण्डौं लैजानेक्रममा राती नेपालथोक पुगेपछि घाईते राईको मृत्यु भएको आफन्त राजेन्द्र राईले बताए ।
मिस्त्रीको काम गर्दैआएका उनी पर्खाल लगाउन घरको तलामा चढेका बेला लडेका थिए । लडेर गम्भीर घाईते भएका दिपेन्द्रलाई दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई आफैले सोमबार राती गाडीमा राखेर आहालेसम्म पु¥याइदिए पछि आहालेबाट एम्बूलेन्समार्फत उपचारमा लगिएको थियो ।
उनका श्रीमती र एक वर्षका छोरा छन् । निम्न आर्थिक अवस्था भएका कारण उनले मजदुरी काम गर्दै परिवार पाल्दैआएका थिए ।