शनिवार, पौष ४ २०७७
नेपाल वाइड
खोटाङ । पुस ४, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा अन्तर वडास्तरिय प्रथम च्यालेञ्ज कप फुटबल प्रतियोगीताको तयारी गरिएको छ । कोरोना महामारीका कारण झण्डै नौ महिनादेखि खेलकुदजन्य गतिविधि ठप्प रहेको अवस्थामा स्थानीय नेर्पा स्पोर्टस् क्लवले नेर्पा भुलभुले अन्तर वडास्तरिय प्रथम च्यालेञ्ज कप २०७७ को तयारी गरेको हो ।
आयोजक नेर्पा स्पोर्टस् क्लवले शनिबार दिक्तेलस्थित उज्यालो क्याफे गजल रेष्टुरेण्ट एण्ड बारमा पत्रकार सम्मेलन गरेर फुटबल प्रतियोगीताको तयारी गरेको जानकारी दिएको हो । ‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ आगामी पुस १८ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने प्रतियोगीताका विजेताले नगद १ लाख १ हजार १११ र उपविजेताले ५५ हजार १११ का साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।
यस्तै, सेमीफाइनलिष्ट टिमलाई प्रतिटिम नगद २० हजार १११ प्रदान गरिने नेर्पा स्पोर्टस् क्लवका अध्यक्ष सन्तकुमार राईले जानकारी दिए । नेर्पा भुलभुले अन्तर वडास्तरिय प्रथम च्यालेञ्ज कपका वेष्ट किपर, वेष्ट डिफेण्डर, वेष्ट मिडफिल्डर, वेष्ट फरवार्ड र वेष्ट प्रशिक्षकलाई जनही दुई हजार एक सयका साथमा ट्रफी र प्रमाण–पत्र प्रदान गरिने क्लवले जनाएको छ ।
यस्तै, हाइस्कोररलाई तीन हजार एक सय र सर्वोत्कृष्ट खेलाडीलाई चार हजार एक सयका साथमा ट्रफी र प्रमाण–पत्र प्रदान गरिने जानकारी दिइएको छ । जिल्ला फुटबल संघको संयोजनमा नेर्पा स्पोर्टस् क्लवले अन्तर वडास्तरिय प्रथम च्यालेञ्ज कपको तयारी गरेको हो । प्रतियोगीतामा जिल्लाका १० स्थानीय तहका ७९ वडाले प्रतिष्पर्धा गर्न पाउने आयोजकले जनाएको छ ।
त्यसमा पनि सम्वन्धित वडाकै खेलाडी हुनुपर्ने बताइएको छ । पत्रकार सम्मेलनमा फुटबल संघका सदस्य भानु राई, खोटाङ एघार फुटबल क्लवका महासचिव पवन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कोरोना महामारीका कारण जिल्लामा लामो समयदेखि खेदकुदजन्य गतिविधि सञ्चालन हुन सकेको छैन ।