शनिवार, पौष ४ २०७७
नेपाल वाइड
खोटाङ । पुस ४, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका स्थानीयले श्रमदानबाट सडक मर्मत गरेका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा र दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँको सिमानामा पर्ने चारकिल्ला–खमारे सडक मर्मत गरेका हुन् ।
खमारे लासिङटारका स्थानीयले दुई दिन लगाएर चारकिल्लाबाट खमारे–लोहोकिल हुँदै बेलदोभान पुग्ने डेढ किलोमिटर सडक मर्मत गरेका हुन् । वर्षाकाबेलामा भएको खाल्डाखुल्डी तथा पहिरोलाई श्रमदानबाट पन्छाइएको स्थानीय गंगाधर कार्कीले बताए ।
५९ जनाको समुहले दुई दिन लगाएर करिब ६२ हजार बराबरको श्रमदानबाट सडक मर्मत गरेका हुन् । चार/पाँच वर्षअघि निर्माण गरिएको कच्ची सडक मर्मतका लागि खमारेका हरेक घरका स्थानीय जुटेका कार्कीले बताए ।