Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शैक्षिक सुधार अभियान

    हलेसी तुवाचुङ नगरपालिकाका सबै माबिमा मावि स्थायी शिक्षक प्रअ

    हलेसी तुवाचुङ नगरपालिकाका सबै माबिमा मावि स्थायी शिक्षक प्रअ


    • बिहिवार, पौष २ २०७७

    • नेपाल वाइड


    हलेसी तुवाचुङ नगरपालिकाका सबै माबिमा मावि स्थायी शिक्षक प्रअ
    फायल तस्बिर

        खोटाङ । पुस २, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै माबिमा मावि स्थायी शिक्षकलाई प्रअ नियुक्त गर्ने निर्णय गरेको छ । हालसम्म प्राविका शिक्षक, राहत दरबन्दीका शिक्षक तथा अस्थायी शिक्षक प्रअ रहेका माविमा नगरपालिकाले स्थायी माबि शिक्षकलाई प्रअकारुपमा पठाउने निर्णय गरेको हो ।

         गत वर्ष शैक्षिक सुधार वर्षको अभियान थालेको नगरपालिकाले यसपल्ट नगरपालिकाभित्रका सबै माबिमा दरबन्दी मिलान गर्दै मावि तहकै शिक्षकलाई प्रअको जिम्मेवारी दिएको हो । विद्यालयको शैक्षिक तथा प्रशासनिक सुधार गर्दै शैक्षिक गुणस्तर वृद्धिका लागि माविमा मावि तहकै स्थायी शिक्षकलाई प्रअकारुपमा पठाउने निर्णय गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । ११ वडा रहेको नगरपालिकामा ११ वटै माबि छन् ।

         नगरपालिकाले दरबन्दी मिलानकाक्रममा दाम्ली मावि डिकुवामा बिष्णु राई, च्यास्मीटार माबिमा नयनकुमार राई, लक्ष्मी माबि बडहरेमा केदार शाह, पिपलडाँडा माबि मंगलटारमा खम्बराज राई, महेन्द्रोद्धय माबि हलेसीमा मनकुमार राई, बुलापन्थे माबि धितुङमा पदम कार्की, सरस्वती माबि अर्खौलेमा नविन चाम्लिङ र राजापानीमा रामदेव यादवलाई प्रअको जिम्मेवारी दिएको छ ।

        योग्यता अनुशार जनता माबि सल्लेका तुलाचन्द्र राई, दुर्छिम माबिका प्रअ मेजर राई र कालिका माबि बाहुनीडाँडाका प्रअ मेघनाथ घिमिरेलाई भने नगरपालिकाले यथावत राखेको जनाएको छ । प्रावि वा आधारभुत तहका शिक्षक प्रअ हुने तर मावि तहका शिक्षक सहायक शिक्षक हुने व्यवस्था अन्त्या गर्दै माथिल्लो तहका स्थायी शिक्षकलाई नेतृत्व दिनेगरी हरेक माबिमा स्थायी शिक्षकको व्यवस्था गरिएको मेयर राईले बताए ।

         उच्च शिक्षा हासिल गरेका तथा क्षमतावान शिक्षकले माविको नेतृत्व पाउँदा अन्य शिक्षकको मनोवल समेत उच्च हुने दावी गरिएको छ । तल्ला तहका शिक्षक प्रअ हुँदा कतिपय विद्यालयमा ‘प्रोटोकल’को विवाद हुने गरेको थियो । ‘प्रोटोकल’को समस्याले कतिपय विद्यालयको शैक्षिक वातावरण समेत धमिलिने गरेको तथ्यलाई ध्यान दिँदै माविमा मावि तहकै स्थायी शिक्षकलाई प्रअ बनाउने व्यवस्था कार्यान्वयन गरिएको मेयर राईले बताए । ‘हालसम्म कतिपय माबिमा प्राविका शिक्षक नै प्रअ थिए । त्यसले प्रोटोकलमा समस्या ल्याउँदो रहेछ र नेतृत्वलाई अस्वीकार गर्ने समस्या सिर्जना भएको पाइयो,’ मेयर राईले भने, ‘क्षमतावान शिक्षक बाहिर रहँदा विद्यालयमा अपेक्षाकृत सुधार गर्न सकिँदो रहेनछ भन्ने तथ्यलाई मनन गर्दै शैक्षिक स्तर उकास्नका लागि तह अनुशारको प्रअ राख्ने निर्णय गरिएको हो । यस कदमबाट विद्यालयको शैक्षिक, प्रशासनिक र आर्थिक व्यवस्थापनमा सुधार आउने अपेक्षा गरेका छौँ ।’

        २०७६ सालमा सुरु गरिएको शैक्षिक सुधार वर्षको अभियानको निरन्तरता स्वरुप नगरपालिकाले स्थायी मावि दरबन्दी नभएका माबिमा मावि शिक्षक पठाएर प्रअ बनाउने निर्णय कार्यान्वयनमा ल्याएको हो । दरबन्दी मिलानमा परेका शिक्षकलाई शैक्षिक, प्रशासनिक र नेतृत्व विकास सम्वन्धी दुई दिने तालिममा सहभागी गराएर प्रअको जिम्मेवारी दिएर विद्यालयमा खटाउने नगरपालिकाको तयारी छ । शैक्षिक–सत्रको सुरुमै सबै माविमा माबि स्थायी शिक्षकलाई प्रअ बनाउने लक्ष्य राखिए पनि कोभिड–१९ का कारण योजना प्रभावित भएको मेयर राईले बताए ।

        शैक्षिक सुधारका लागि नगरपालिकाले सुझाव संकलन गर्ने, प्रतिवद्धता जुटाउने, क्षमता विकास तालिम लगायतका क्रियाकलाप सञ्चालन गरिसकेको छ । ‘शैक्षिक रुपमा योग्य र शिक्षित जनशक्ती उत्पाद गर्न नसकेसम्म समाजमा विकास र संवृद्धिको अपेक्षा गर्न सकिँदो रहेनछ,’ मेयर राईले भने, ‘शैक्षिक रुपमा योग्य जनशक्ती निर्माण र उत्पादनमा टेवा पुर्‍याउने नगरपालिकाको जोड बलकै प्रयास हो यो ।’

    सम्बन्धित समाचार