शनिवार, मंसिर २७ २०७७
नेपाल वाइड
खोटाङ । मंसिर २६, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा ज्येष्ठ नागरिकलाई लक्ष्यीत गर्दै ‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ सुरु गरिएको छ । ७० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई घर–घरमै औषधि उपचारको व्यवस्था गर्ने प्रयास स्वरुप वडा कार्यालय र स्वास्थ्यचौकी बुईपाले ‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ सुरु गरेको हो ।
नगरपालिका तथा वडाको कुनै पनि योजना तथा कार्यक्रमले प्रत्यक्ष रुपमा नछोएका ज्येष्ठ नागरिकलाई राहत दिनेगरी ‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ सुरु गरिएको बुईपाका वडाध्यक्ष दिनेश राईले बताए । ‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेबी राईले उद्घाटन गरेका छन् ।
वडाभित्रका हरेक ज्येष्ठ नागरिकलाई हरेक दुई महिनामा घरैमा पुगेर स्वास्थ्य परिक्षण गर्ने र आवश्यक औषधि निःशुल्क उपलव्ध गराउनेगरी ‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ सुरु गरिएको हो । ७० वर्ष पुगेका ३०८ जना ज्येष्ठ नागरिकको प्रोफाईल (व्यक्तीगत विवरण) नै तयार पारेर कार्यक्रम सुरु गरिएको बुईपा स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरिक्षक खेमराज आचार्यले बताए ।
‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ अन्तरगत हरेक दुई महिनामा स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी आलोपालो गरेर स्वास्थ्य परिक्षण गर्ने सामग्री र औषधि सहितको झोला बोकेर ज्येष्ठ नागरिकको घरमा पुग्ने छन् । कोरोना कहरका कारण लागू गरिएको लकडाउनका समयमा सबैभन्दा बढि ज्येष्ठ नागरिक मारमा परेको देखिएपछि वडा स्वास्थ्य समितिको निर्णय अनुशार ‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ सुरु गरिएको वडाध्यक्ष राईले बताए । घर–घरमा पुग्ने स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकलाई स्वास्थ्य बीमा र त्यसबाट पाइने सेवा सुविधा लिने प्रकृयाका बारेमा पनि बताउने जनाइएको छ ।
बुईपामा करिब ४१२ जना ज्येष्ठ नागरिक छन् । हेल्थ प्रोफाईल बनाईएका ४०/४५ जना ज्येष्ठ नागरिक भने हाल बाहिर छन् ।
वडा कार्यालय र स्वास्थ्यचौकी बुईपाले हरेक शुक्रबार पञ्चरदोबाटोमा लाग्ने हाटमा डेस्क खडा गरेर स्वास्थ्य सेवा प्रवाह गर्दै आएको छ । कोरोना महामारीकाक्रममा पञ्चरदोबाटोमा हेल्थडेस्क खडा गरेको वडा कार्यालय र स्वास्थ्यचौकीले लकडाउन खुलेपछि हाटका दिन सोही ठाउँबाट स्वास्थ्यचौकीबाट प्राप्त हुने सेवा सरह सेवा प्रवाह गर्दै आएको जनाएको छ । हाटका दिन विशेषगरी भिटामिन, गर्भनिरोेधक साधन वितरण भइरहेको वडाध्यक्ष राईले बताए ।