शनिवार, मंसिर २७ २०७७
नेपाल वाइड
खोटाङ । मंसिर २७, खोटाङको साकेला गाउँपालिकाले ज्येष्ठ तथा अपांग नागरिकलाई दिँदै आएको निःशुल्क यातायात सेवालाई चालु आर्थिक वर्ष पनि निरन्तरता दिएको छ । ज्येष्ठ नागरिक तथा अपांग सम्मान कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७६/०७७ देखि ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गको परिचय–पत्र पाएका फरक क्षमता भएका व्यक्तीलाई सडक यात्रामा शतप्रतिशत छुट दिने व्यवस्था मिलाएको गाउँपालिकाले चालु आर्थिक वर्ष पनि निःशुल्क यातायात सेवालाई निरन्तरता दिने भएको हो ।
ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तीलाई निःशुल्क सडक यात्रा गर्ने व्यवस्थाका लागि खोटाङ यातायात प्रालिसँग सम्झौता गरिएको गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काले बताउनुभयो । गाउँपालिका र खोटाङ यातायात प्रालिबिचमा साकेला गाउँपालिका–रसुवाघाट–गाईघाट सडक तथा साकेला गाउँपालिका–दिक्तेल–काठ्माण्डौं सडकमा यात्रा गर्ने ज्येष्ठ नागरिक र अपांगलाई भाडामा शतप्रतिशत छुट दिने सम्झौता भएको छ ।
बृद्धबृद्धा एबं अपांगता भएका व्यक्तीको सम्मान, हौसला र सहज यात्राका लागि गाउँपालिकाले उनीहरुलाई निःशुल्क सडक यातायात सेवाको व्यवस्था गरेको जनाएको छ । ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तीले निःशुल्क यात्रा गरेको प्रमाण पेश गरेको आधारमा यातायात व्यवसायीले गाउँपालिकाबाट भुक्तानी पाउने गरी निःशुल्क यातायात सेवा कार्यान्वयनमा ल्याइएको हो ।
खोटाङ यातायात प्रालिको बसबाट यात्रा गर्ने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तीले सम्वन्धित वडाको वडाध्यक्ष वा वडा सचिवले प्रमाणित गरेको र वडा कार्यालयको छाप हालिएको टोकन लिएर यात्रा गर्ने व्यवस्था मिलाइएको उपाध्यक्ष खड्काले बताउनुभयो ।
बृद्धबृद्धा तथा पूर्ण अशक्त र अति अशक्त अपांगको निःशुल्क सडक यात्राका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ देखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई गाउँपालिकाभित्रको सडकमा निःशुल्क यात्राको व्यवस्था कार्यान्वयनमा ल्याएको थियो ।
ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गका अपांगता भएका सर्वसाधारणलाई यातायातमा सुविधा दिनका लागि गत वर्ष ऐसेलुखर्क गाउँपालिकाले पनि निःशुल्क यात्रा गर्ने कार्यक्रम लागू गरेको थियो ।