Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

    मानव अधिकार उल्लंघनका ३२२ वटा उजुरी, २८५ वटा फस्र्यौट

    मानव अधिकार उल्लंघनका ३२२ वटा उजुरी, २८५ वटा फस्र्यौट


    • बिहिवार, मंसिर २५ २०७७

    • नेपाल वाइड


    मानव अधिकार उल्लंघनका ३२२ वटा उजुरी, २८५ वटा फस्र्यौट
    मानव अधिकारको अवस्थाका बारेमा जानकारी दिँदै मानव अधिकार आयोग प्रदेश नम्बर १ शाखा कार्यालय दिक्तेलका प्रमुख श्यामबाबु काफ्ले

           खोटाङ । मंसिर २५, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले मानव अधिकार उल्लंघनका ३२२ वटा उजुरी परेको जनाएको छ । खोटाङ, ओखलढुंगा र सोलुखुम्बु हेर्नेगरी २०६२ सालमा स्थापना भएको आयोगको कार्यालयमा मानव अधिकार उल्लंघनका ३२२ वटा उजुरी परेकामा हालसम्म २८५ वटा निवेदन फस्र्यौट भएको जानकारी दिएको छ ।

          ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रमको अवशरमा जिल्ला समन्वय समितिको सभाहलमा बिहिबार आयोजित कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर १ शाखा कार्यालय दिक्तेलका प्रमुख एवं उपसचिव श्यामबाबु काफ्लेले गत असार मसान्तसम्ममा २४ वटा मुद्धालाई कारबाहीका लागि सिफारिस गरेको र ३७ वटा निवेदनमाथि कारबाही भएको जानकारी दिए । कार्यक्रममा काफ्लेले प्रस्तुत गरेको कार्यपत्रमा मानव अधिकार आयोगको सिफारिसका आधारमा विभिन्न प्रकृतिका पिडितले ६० लाख १४ हजार ४ सय क्षतीपूर्ती प्राप्त गरिसकेको उल्लेख छ ।

           मानव अधिकार आयोगले हालसम्म ३७ जना पिडितलाई क्षतीपूर्ती प्राप्त भएको, ३७ जनालाई कारबाहीका लागि सिफारिस गरेको, १८ जना उल्लंघनकर्ताको किटानी गरिएको, ३ जनामाथि कारबाही भएको र १५ जनामाथि कारबाही नभएको जनाएको छ । आयोगका प्रमुख आफ्लेले ज्यान मारेको अभियोगमा समातिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका १८ वर्षीय किरण राई ‘भुदेउ’को प्रहरी हिरासतमै मृत्यु भएको घट्नामा दोषी ठहरिएका तत्कालिन प्रहरी नायब उपरिक्षक राजीव बस्नेत, प्रहरी निरिक्षक रमेश देव सहित ११ प्रहरीलाई कारबाहीका लागि सिफारिस गरेपनि कारबाही नभएको चर्चा गरेका छन् ।

         ज्यान मारेको अभियोगमा २०७० साल जेठ २८ गते पक्राउ परेपछि हिरासतमा राखिएको अवस्थामा ‘भुदेउ’को २०७० साल असार २६ गते हिरासतमै मृत्यु भएको थियो । थुनुवा भुदेउको प्रहरी हिरासतमा मृत्यु भएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले तत्कालिन प्रहरी नायब उपरिक्षक बस्नेत, प्रहरी निरिक्षक रमेश देव लगायत ११ प्रहरी बिरुद्ध कारबाहीका लागि सरकार समक्ष सिफारिस गरेको थियो ।

         आयोगले घटनामा संलग्न प्रहरी नायव उपरिक्षक बस्नेत र प्रहरी निरिक्षक देवलाई विभागीय कारवाही गर्न तथा प्रहरी नायव निरिक्षकहरु महेन्द्र खत्री, मुकुन्दप्रसाद विडारी, हवल्दार सुरेशप्रसाद यादव, प्रहरी जवानहरु नकुल राई, रामकुमार बोगटी, कैलाश खत्री, चन्द्र खड्का, देवराज माझी र नारायण खड्कालाई मुलुकी ऐन ज्यान सम्वन्धि महल बमोजिम कारवाही गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय समक्ष २०७० भदौ १९ गते सिफारिस गरेको थियो ।

        कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, नेकपाका जिल्ला कमिटि सचिव रामप्रसाद दंगाल, कांग्रेसका जिल्ला कमिटि सदस्य डिल्लीकुमारी आचार्य, जनता समाजवादीका जिल्ला अध्यक्ष टंक थापा, राप्रपाका जिल्ला अध्यक्ष जीवन श्रेष्ठ लगायतले मानव अधिकारका विषयमा चर्चा गरेका थिए । अधिकारका क्षेत्रमा काम गरिरहेका जिल्लाका १४ संघसंस्था तथा कार्यालयले अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमको आयोजना गरेका हुन् ।


    सम्बन्धित समाचार