बुधवार, मंसिर २४ २०७७
नेपाल वाइड
खोटाङ । मंसिर २४, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा सामुदायीक मेलमिलाप केन्द्र स्थापना गरिएको छ । स्थानीय बिवादलाई मेलमिलापको माध्यमबाट गाउँमै मिलाउनका लागि नगरपालिकाको उपमेयर संयोजकत्वको न्यायिक समितिको पहलमा वडा कार्यालय दुर्छिममा सामुदायीक मेलमिलाप केन्द्र स्थापना गरिएको हो ।
मेलमिलाप केन्द्र बुधबार हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर बिमला राईले उद्घाटन गरेकी छन् । घर परिवार, छिमेकी तथा सामुदायभित्र आउने सानातिना बिवादलाई तालिम प्राप्त मेलमिलापकर्ताको सहयोगमा दुबैपक्षलाई सहमतीमा ल्याएर समुदाय स्तरमै बिवाद समाधानका लागि मेलमिलाप केन्द्र स्थापना गरिएको हो ।
गाउँमा देखा पर्ने विवादलाई गाउँमै हल गर्नका लागि मेलमिलापकर्ताकारुपमा छानिएका स्थानीयलाई मेलमिलाप सम्वन्धी तालिम र जानकारी दिएपछि मेलमिलाप केन्द्रलाई औपचारिकता रुपमा उद्घाटन गरिएको हो । मेलमिलाप सम्वन्धी काम गर्न स्थानीय रेनुका राई, प्रतिमा राई, कुबेर राई र रोमबहादुर राईलाई मेलमिलापकर्ताको जिम्मेवारी दिइएको छ ।
मेलमिलापकर्तालाई स्थानीय सरकार सञ्चालन ऐन, न्यायीक समितिको कार्यविधि, विवाद दर्तादेखि हलसम्मका चरणका बारेमा जानकारी दिने पुस्तक तथा कागजात पनि प्रदान गरिएको उपमेयर राईले बताईन् । सामुदायीक मेलमिलाप केन्द्र सञ्चालनका लागि वडाध्यक्ष रमेश तिवारी संयोजक, वडा सचिव सदस्य सचिव र मेलमिलापकर्ता सदस्य रहेको मिलमिलाप समिति गठन गरिएको छ ।
सामुदायीक मेलमिलाप केन्द्र उद्घाटनकाक्रममा सामाजिक सुरक्षा तथा व्यक्तीगत घट्ना दर्ता सुढृडिकरण सम्वन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । कार्यक्रममा मंगलटारका वडाध्यक्ष रमेश राउत, बडहरेका वडाध्यक्ष किशोर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
यसअघि हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा सामुदायीक मेलमिलाप केन्द्र स्थापना गरिएको थियो । मेलमिलाप केन्द्र क्रमशः नगरपालिकाका ११ वटै वडामा विस्तार गरिने उपमेर राईले बताईन् ।
नगरपालिकाले एक वटा मुद्धा मिलाएवापत प्रतिमुद्धा २ हजारका दरले रकम उपलव्ध गराउने व्यवस्था गरेको जनाएको छ । ‘अन्य वडामा पनि मेलमिलापको काम भइरहेकै छ तर अन्तरक्रीया सहित औपचारिकता दिन बाँकी छ,’ उपमेयर राईले भनिन्, ‘आगामी पुस १५ सम्ममा अन्तरक्रीया सहितको कार्यक्रम लिएर सबै वडामा पुग्ने छौँ ।’