आइतवार, मंसिर २१ २०७७
नेपाल वाइड
खोटाङ । मंसिर २१, प्रथम बिश्वयुद्ध होस् या दोश्रो बिश्वयुद्धमा सयौं नेपाली पुर्खाले ज्यान गुमाए । कतिपय अंगभंग भए वा अशक्त बनेर घर फर्किए । दोश्रो विश्वयुद्धमा बीरताका साथ लडेका कतिपय पुर्व लाहुरे अहिले पनि जिवित भेटिन्छन् । उसबेला कोही छातीमा तक्मा झुण्ड्याएर गर्वकासाथ घर फर्किए भने कोही हातखुट्टा गुमाएर अपांग बनेर घर फर्किएका थिए ।
अहिले सुन्दा कथाजस्तो लाग्ने त्यो बेलाका लाहुरेको इतिहास, संघर्ष, दुःख र पीडालाई गीतकार राजन राईले गीतमा समेट्ने जमर्को गरेका छन् । खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानी घर भएका गीतकार राईले मलाय होस् या गोर्खा पल्टनमा भर्ती भएर ज्यानको आहुती दिएका तिनै नेपाली पुर्खाको बीरतापूर्ण संघर्ष र इतिहास समेटिएको ‘एउटा तक्मा’ बोलको गीत सार्वजनिक गरेका छन् ।
नेपाली पुर्खाले विभिन्न युद्धमा बीरताका साथ लडेका कथा समेटिएको गीतलाई गायक/संगीतकार कन्काइष्ट राईको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । संगीतकार डक्टर किरातको संगीत, कनकाइष्ट राईको स्वर रहेको राजनको गीतमा लाहाङ सुव्वाको एरेञ्ज रहेको छ । सो गीत भर्जिन रेकर्डिङ स्टुडियो नक्सालमा रेर्कड गरिएको हो ।
‘एउटा तक्मा’मा भैंसी चराउँदा चराउँदै हाम्रा पुर्खालाई गल्लावालले भर्तीमा लगेको, पुर्खाले युद्धमा बीरगती प्राप्त गरेको, कोही पुर्खा छातीमा तक्मा झुण्ड्याएर आएको, कोही दुई वटै खुट्टा गुमाएर फर्किएको लगायतका कथालाई संगीतमा सुन्न सकिन्छ । स्वयं गीतकार राईका आफ्नै हजुरबा गञ्जमनी राईले मलाया (हालको मलेसिया)मा जर्मन–जापानसँग लड्नेक्रममा ज्यान गुमाएको कथालाई पनि गीतमा समेटिएको छ ।
आफ्नोपक्षबाट लड्नेक्रममा ज्यान गुमाएका सेनाको सम्झनामा बेलायतले मलेसियाको सेराम्बङमा सामुहिक चिहान बनाइदियो । त्यही सामुहिक चिहानमा २११४६८२४ पल्टन नम्बर भएका बाजे गञ्जमनीको परिचय खुल्ने विवरण सहितको चिहान रहेको चर्चा गीतमा छ । ‘हाम्रो बाजे पुर्खाले प्रथम र दोश्रो बिश्वयुद्ध लडे । त्योभन्दा अघिका कैयौं युद्धमा पनि बीरताका साथ लडे । कसैले तक्मा पाए, कसैले ज्यान गुमाए, कोही अपांग वा अशक्त भएर फर्किए,’ गीतकार राईले भने, ‘यो गीत तिनै हाम्रा पुर्खाको जीवनगाथा हो, बीरगाथा हो । समग्र गोर्खा भर्ती जाने नेपालीको कथा हो ।’ गीतकार राई नेकपाका केन्द्रीय सदस्य एबं प्रदेशसभा सांसद हुन् ।
उनका ‘ऐठन’, ‘अक्षर र आवाज’, ‘किन किन’ लगायतका चर्चित एल्बम बजारमा आइसकेको छ । एल्बम ‘किन किन’मा समेटिएको गायीका अञ्जु पन्तले गाएको ‘जीन्दगी यो फूलै फूलको थुंगो हुँदैन’ बोलको गीतमार्फत राई सफल गीतकारकारुपमा चिनिएका हुन् । ऐठनमा समेटिएको राजेशपायल राईको स्वरमा रहेको राईको ‘ऐठन होला–होला जस्तो लाग्यो’ बोलको गीत पनि चर्चाकै शिखरमा छ ।
भिडियो.... =