मंगलवार, मंसिर २ २०७७
नेपाल वाइड
जो बाइडन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका छन् । डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनसमक्ष कानुनी चुनौतीहरू भने बाँकी छन् ।
बीबीसीले गरेको प्रक्षेपणअनुसार उनले महत्त्वपूर्ण पेन्सिल्भेनिया राज्यमा विजय हासिल गरेसँगै राष्ट्रपति निर्वाचित हुनका लागि आवश्यक २७० मत भन्दा बढी मत प्राप्त गरेका छन् । सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपति रहेका बाइडन दशकौँको अनुभवप्राप्त, विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता राजनीतिज्ञका रूपमा परिचित छन्न् जो सामान्य नागरिकसँग पनि सहजतापूर्वक घुलमिल हुन सक्छन् ।
को हुन् त जो बाइडन ?
जो बाइडनले राजनीतिमा पहिलो पाइला चाल्दा अहिलेका कैयौँ मतदाता जन्मिएका पनि थिएनन् । बाइडनको वाशिङ्टनसँगको नाता ४७ वर्षअघि सन् १९७३ मा जोडिएको थियो जब उनी अमेरिकी सिनेटका सदस्य बनेका थिए । अनि उनको पहिलो राष्ट्रपतीय प्रचार अभियान ३३ वर्षअघि सन् १९८७ मा भएको थियो ।
राष्ट्रपति ओबामाको उपराष्ट्रपतिको रूपमा सन् २००९ मा उनले 'अर्थतन्त्रमा हामीले हानि पुर्याउने ३० प्रतिशत सम्भावना छ' भनेर मानिसहरूलाई त्रसित बनाइदिए । उनले ओबामालाई वर्णन गर्दै यसो भनेका थिए "अफ्रिकी-अमेरिकी समुदायका पहिलो व्यक्ति जो प्रखर वक्ता छ, तीक्ष्ण र स्वच्छ अनि आकर्षक छ ।" तापनि भाग्य नै भन्नुपर्छ अमेरिकाको पहिलो अश्वेत राष्ट्रपतिले उनलाई उपराष्ट्रपतिमा चुने ।
उनको व्यवहारलाई लिएर महिलाहरूबाट बाइडनले कैयौँ आरोप खेपेका छन् । गत वर्ष बाइडनले आफूहरूलाई अनुचित रूपमा स्पर्श गरेको, अँगालो हालेको वा चुम्बन गरेको भन्दै आठ महिलाले आरोप लगाएका थिए । अमेरिकी सञ्चारमाध्यमहरूले बाइडनले कसरी सार्वजनिक कार्यक्रममा उपस्थित महिलाहरूसँग निकट भावमा व्यवहार गर्छन् र कसरी उनीहरूको केश सुँघेको जस्तो गर्छन् भनेर पनि चित्रण गरे । प्रतिक्रियामा बाइडनले आगामी दिनमा आफ्नो व्यवहारलाई लिएर होस पुर्याउने बताए ।
सन् १९८७ मा बाइडन पहिलो पटक राष्ट्रपति पदका निम्ति आकाङ्क्षी बनेका थिए । अमेरिकाका हरेक महत्त्वपूर्ण घटनाक्रममा बाइडन या त संलग्न छन् या त त्यसबारे केही टिप्पणी गरेका छन् । सन् १९७० मा सार्वजनिक विद्यालयहरूमा जातीय एकता कायम गराउन बालबालिकालाई अन्य इलाकामा बसबाट पुर्याउन भनी गरिएको निर्णयको विरोध गरिरहेका दक्षिणी क्षेत्रका समूहको समर्थनमा बाइडन उभिएका थिए । यो विषयलाई पटकपटक उनको विरुद्धमा प्रयोग गरिएको छ । ओबामाको कार्यकालमा रक्षामन्त्री रहेका रोबर्ट गेट्सले विदेशनीति तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित लगभग प्रत्येक महत्त्वपूर्ण निर्णयमा बाइडन गलत ठहरिएको तर पनि उनलाई नरुचाउन भने नसकिने बताएका थिए ।
हन्टर बाइडनले पिताको राजनीतिमा जटिलता उत्पन्न गरिदिएका छन् । हन्टर पहिले वकिल थिए। पछि उनको व्यक्तिगत जीवन समस्याग्रस्त भयो । उनको पहिलो पत्नीले उनले लागुऔषध तथा मदिरा प्रयोग गर्ने गरेको अनि मोजमस्तीमा लागेको विषयलाई सम्बन्धविच्छेदको कारणको रूपमा प्रस्तुत गरेकी थिइन् । कोकिन प्रयोग गरेको पाइएका कारण उनी अमेरीकी जलसेनाबाट निष्काशनमा परेका थिए । उनले द न्यूयोर्कर पत्रिकासँगको कुराकानीमा आफूलाई ऊर्जा क्षेत्रसँग सम्बन्धित एक ठूला चिनियाँ व्यापारीले हीरा दिएको स्वीकारेका थिए । ती व्यापारीलाई पछि बेइजिङले भ्रष्टाचारमा छानबिन गरेको थियो । गत वर्ष हन्टरले भेटेको एक सातापश्चात् नै दोस्रो पत्नीसँग बिहे गरेका थिए । उनको व्यक्तिगत जीवन र आम्दानीको विषयले बाइडनपनि विवादमा तानिएका छन् । उनले गरेको आम्दानीको एउटा क्षेत्रचाहिँ यूक्रेन थियो । त्यसलाई लिएर राष्ट्रपति ट्रम्पले यूक्रेनका राष्ट्रपतिलाई हन्टरमाथि भ्रस्टाचारको अनुसन्धान गर्न दबाव दिएको भन्ने आरोप लाग्यो ।
सन् १९९१ मा उनले पहिलो खाडी युद्धको विपक्षमा मतदान गरेका थिए भने सन् २००३ मा चाहिँ इराक अतिक्रमणको समर्थन गरेका थिए। पछि उनले अमेरिकाको इराकमा संलग्नताको आलोचना गर्न थाले । अलि सतर्क रहन रुचाउने बाइडनले राष्ट्रपति ओबामालाई ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्न सुझाएका थिए । सो कारबाहीमा बिन लादेन मारिएका थिए । बाइडनका दृष्टिकोणहरू डेमोक्र्याटिक पार्टीका कैयौँ युवा अभियानकर्मीहरूले भने रुचाउँदैनन् । उनीहरूले बर्नी स्यान्डर्स वा एलिजाबेथ वारेनका जस्ता कट्टर युद्धविरोधी अडानको समर्थन गर्छन् । तर कैयौँ अमेरिकीको रुचिविपरीत उनी अलि ज्यादा शान्तिकामी पनि लाग्न सक्छन् । उनको अधिकांश नीतिहरू मध्यमार्गी किसिमका छन् । वीवीसी