शुक्रवार, कार्तिक २८ २०७७
नेपाल वाइड
खोटाङ । कात्तिक २८, निर्माण गरेको ११ दिन नबित्दै भत्किएको खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मास्थित जयसरस्वती प्राबिको टेवा पर्खाल पुःननिर्माण गरिएको छ । प्रदेश निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको १० लाख बजेटमा निर्माण गरिएको जाली सहितका र जाली बिनाका तीन वटा टेवा पर्खालमध्ये एउटा पर्खाल वर्षाका कारण निर्माण लगत्तै भत्किएको थियो ।
वर्षापछि गत साउन ५ गते विद्यालयको भवनको कुलेसोमा थुप्रिएको पर्खाल सोही बजेटमा व्यवस्थापन समितिले पुःन निर्माण गरेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।
आर्थिक वर्ष २०७६/०७७ विनियोजित बजेटबाट निर्माण गरिएको जाली पर्खालमध्ये बिनाका एउटा टेवा पर्खालको २/३ मिटर खण्ड भत्किएको थियो । सो पर्खाल निर्माणको काम पूरा नहुँदै फस्र्यौट गर्न खोज्दा तत्कालिन प्रअ रत्नकुमार बस्नेतले जागीर नै गुमाउनु परेको थियो ।
विद्यालयको टेवा पर्खालको काम सम्पन्न नहुँदै अर्कै ठाउँको तस्बिर देखाएर फस्र्यौट गर्न जाँदा तत्कालिन प्रअ बस्नेतलाई गाउँपालिकाले असार २८ गते पदबाट हटाएको थियो । योजनाको काम पूर्णरुपमा सम्पन्न नहुँदै असम्वन्धित योजनाको तस्बिर राखेर फस्र्यौटमा गएको खुलेपछि बस्नेत प्रअबाट हटाइएपछि व्यवस्थापन समितिले निमित्त प्रअ बनाएका निर्मला थापाले असार २९ गते योजनाको फरफारक गरेको थियो ।
योजना फस्र्यौटका लागि असार २२ गते गाउँपालिका पुगे पनि ओख्रेको आरुबोटे–लहरेपैयूँ–बार्लाङ–रिभु–एक्लेबर–डाँडाखर्क काहुले–मलबासे हुँदै सिमलडाँडा–जमुनेढुंगा–धिप्लुङ झरना जोड्ने सडकको तार जाली हालेको तस्बिर पेश गरेको र काम पुरा नभएको भन्दै गाउँपालिकाले ‘एक्सन’ लिएपछि असार २५ गते पर्खालमा माटो फिलिङका काम पुरा गरिएको थियो ।
तर सो पर्खाल ११ दिन नवित्दै भत्किएको थियो । विद्यालयको भत्किएको टेवा पर्खाल पुःननिर्माणका लागि दिइएको निर्देशन पालना गर्दै पुःननिर्माण गरेकामा गाउँपालिका अध्यक्ष राईले व्यवस्थापन समिति, प्रअ र अभिभावकलाई धन्यवाद दिएका छन् । ‘योजना सम्पन्न भएको भन्दै अन्य योजनाको बिल, भर्पाइ र फोटो पेश गरेर फस्र्यौटको कोसिस गर्ने तत्कालिन प्रअलाई पदबाट बर्खास्त गर्नु परेको थियो भने बनाइएका पर्खाल पनि केही समयमै भत्किएको थियो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘अहिले गाउँपालिकाको निर्देशनलाई पालना गर्दै त्यही पैसामा पुःन पर्खाल बनेको छ । यो योजनाले हामी सबैलाई पाठ सिकाएको छ । विव्यास, प्रअ र अभिभावकप्रति हार्दिक धन्यबाद !’
पर्खाल निर्माणको काम पुरा नहुँदै फस्र्यौट गर्ने प्रयास भएको तथा बनेको केही समयपछि नै भत्किएपछि व्यवस्थापन समितिका अध्यक्ष जितप्रसाद राईको सभापतित्वमा बसेको अभिभावकको बैठकले पनि पर्खाल मर्मत गर्ने निर्णय गरेको थियो ।
व्यवस्थापन समितिले पर्खाल पुःननिर्माणको काम सम्पन्न गरेकाले शुक्रबारबाट योजना फस्र्यौटको प्रकृया थालिएको निमित्त प्रअ थापाले बताईन् । ‘पर्खाल निर्माणको काम पुरा भएपछि बुधबार गाउँपालिका अध्यक्ष अनुगमनमा आउनु भएको थियो,’ निमित्त प्रअ थापाले भनिन्, ‘समिति आफैले पर्खाल पुःननिर्माण गरेको हो । श्रोत जुटाइएको छैन । विव्यासले उधारोमै काम गरेको हो ।’