बिहिवार, कार्तिक २७ २०७७
नेपाल वाइड
खोटाङ । खोटाङमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमितको संख्या ६६ पुगेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ६६ जनालाई कोरोना संक्रमण पूष्टी भएको हो ।
हालसम्म ४६ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् । हाल २० जना संक्रमितको उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा कोभिड–१९ बाट संक्रमितको संख्या लगातार वृद्धि भइरहेको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सबैभन्दा बढि संक्रमित भेटिएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट १ हजार ११ जनाको पिसिआर परिक्षणमा पठाइएकामा ३० जनालाई संक्रमण भएको पूष्टी भएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका संक्रमितमध्ये १० जना प्रहरी जवान छन् ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिकाबाट ३०१ जनाको नमूना पिसिआर परिक्षणमा पठाइएकामा ४ जना, खोटेहाङ गाउँपालिकाबाट १३३ जनाको पिसिआर परिक्षणमा पठाइएकामा ४ जना, साकेला गाउँपालिकाबाट २३० जनाको पिसिआर परिक्षणमा पठाउँदा ४ जना, जन्तेढुंगा गाउँपालिकाबाट १२३ जनाको पिसिआर परिक्षणमा पठाउँदा २ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाबाट १४६ जनाको पिसिआर परिक्षणमा पठाउँदा १ जना, ऐसेलुखर्क गाउँपालिकाबाट ७३ जनाको पिसिआर परिक्षणमा पठाउँदा १ जना, बराहपोखरी गाउँपालिकाबाट ५७ जनाको पिसिआर परिक्षणमा पठाइएकामा १ जना र केपीलासगढी गाउँपालिकाबाट ८९ जनाको पिसिआर परिक्षण गर्दा १ जनालाई संक्रमण पूष्टी भएको प्रशासनले जनाएको छ ।
संक्रमितमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १८ जना, केपीलासगढी गाउँपालिकाका १ जना र जन्तेढुंगा गाउँपालिकाका १ जना हाल उपचारमै छन् । हालसम्म रावाबेँसी गाउँपालिकामा कुनै पनि संक्रमित फेला परेका छैनन् ।
लकडाउन खुलेपछि र लामो तथा छोटो दुरीको सवारी साधन सञ्चालन सुरु भएपछि आवागमन बढ्दा जिल्लामा कोरोना संक्रमणको त्रास बढेको छ । तर, स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा बेवास्ता बढिरहेको छ । हाल हाटबजारमा अधिक भिड लाग्ने गरेको छ ।