बुधवार, कार्तिक २६ २०७७
नेपाल वाइड
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले अस्थायी कोभिड अस्पताल स्थापना गरेको छ । कोभिड–१९ को महामारीलाई लक्ष्यीत गर्दै दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित स्वास्थ्यचौकीमा ५ शैयाको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो ।
कोरोना भाइरसको संक्रमण दर फैलिर भयवह अवस्था आएमा नागरिकको सहज उपचार व्यवस्थापनका लागि अस्थायी कोभिड अस्पताल स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।
अस्थायी कोभिड अस्पताल निर्माणका लागि संघीय सरकारले उपलव्ध गराएको १० लाख र गाउँपालिकाले अस्पताल व्यवस्थापनका लागि बिनियोजन गरेको ३५ लाख बजेटबाट कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो । स्वास्थ्यचौकीको नयाँ भवनमा स्थापना गरिएको कोभिड–१९ सम्वन्धी अस्पताल मंगलबार गाउँपालिकाका अध्यक्ष राईले उद्घाटन गरेका हुन् ।
गाउँपालिकाले एक जना एमबिबिएस डाक्टर, २ जना स्टाफ नर्स, १ जना ल्याब असिस्टेन्ट र कार्यालय सहयोगी नियुक्त गरेर अस्थायी कोभिड अस्पताल स्थापना गरेको हो । दशैं र तिहार जस्ता चाडवाड तथा अन्तरजिल्ला यातायातका कारण भइरहेका आवागमनले समुदायस्तरमा कोरोना संक्रमण फैलने खतरा बढेको अवस्थामा गाउँपालिकाले भदौ ३१ गते अस्थायी कोभिड अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो ।
गाउँपालिकामा कोरोना संक्रमित भेटिएमा उपचारका लागि जिल्ला अस्पताल वा जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता अन्त्यका अस्थायी कोभिड अस्पतालको अवधारणा अघि सारिएको गाउँपालिकाले जनाएको छ । ‘काठमाण्डौंमा अत्यन्तै बढि संक्रमित भेटिइरहेको अवस्था छ । यही अवस्थामा संघीय सरकारले लामो दुरीका सवारी साधन खोल्ने निर्णय गर्यो ।
काठमाण्डौं, भारत र तेश्रो मुलुकबाट आउने मान्छेलाई एउटै नजरले हेर्नुपर्ने हुन्छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘त्यसकारण संक्रमित क्षेत्रबाट आएका नागरिकलाई पिसिआर परिक्षण गर्दा संक्रमण देखियो भने उहाँहरुलाई बाहिर पठाउनुभन्दा आफ्नै ठाउँको आइसोलेसनमा राख्ने व्यवस्थाका लागि अस्पताल स्थापना गरिएको हो ।’
अस्थायी कोभिड अस्पताल उद्घाटनकाक्रममा गाउँपालिका उपाध्यक्ष सपना रार्ई, प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहाल, वडाका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।