सोमवार, कार्तिक १७ २०७७
नेपाल वाइड
खोटाङ । कात्तिक १७, छाप्रोमा बस्दै आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका काशी नेपाली निलो जस्ताले छाएको दुई कोठे चिटिक्कको नयाँ घरमा सर्न पाउँदा दंग छन् । बडहरेका वडाध्यक्ष किशोर बस्नेतको पहलमा राष्ट्रिय पुःननिर्माण प्राधिकरणकै मापदण्ड अनुशार नयाँ घर निर्माण गरिएपछि नेपाली परिवार नयाँ घरमा सरेका हुन् ।
विगत ६/७ वर्षअघि देखि बडहरेको तल्लो खोक्सेलीमा टहरा बनाएर बसिरहेका नेपाली श्रीमती, ४ छोरा र ३ छोरी सहित फुलपातीका दिन ब्राह्मण पढाएर पूजापाठ गर्दै नयाँ घरमा सरेका छन् । महाभूकम्प पछि गाउँमा पुःननिर्माण अभियान चले/चलाइए । भत्केका र चर्केका घरका ठाउँमा निलो जस्ता हालिएको घर ठडिए । तर, पुःननिर्माण अभियानले नेपाली परिवारलाई छोएन । कारण थियो उनको ओत लाग्ने सानो छाप्रो । छाप्रोलाई भूकम्पले क्षती पुर्याएको देखाउन नसकिने भएपछि उनको घर पुःननिर्माणको सूचीमा समावेस भएन ।
पुःननिर्माण अभियानमा नसमेटिएका नेपाली परिवारको पुःनर्वास गराउने प्रयासमा वडाध्यक्ष बस्नेतले नयाँ घर निर्माणमा अग्रसरता दिएका हुन् । आफैले पारिश्रमिक उपलव्ध गराउनेगरी सिकर्मी र डकर्मी लगाएर नेपालीको नयाँ आवास निर्माण गरिदिएको वडाध्यक्ष बस्नेतले बताए । ‘म आफैले घर निर्माण गरिरहेकाले मेरै घर बनाउने सिमेन्ट र रड उपलव्ध गराएँ । निर्माणमा खटिने लेवर र मिस्त्री म आफैले लगाएँ । ट्याक्टर व्यवसायीलाई भनेर बालुवा निःशुल्क जुटाइदिएँ,’ वडाध्यक्ष बस्नेतले भने, ‘ढुंगाचैं काशी आफैले व्यवस्था गरे । घर बनाउदा छानामा बाहेक २ लाख ७० हजार खर्च भएको छ । लेवर मिस्त्रीले त्यो पैसा काशीलाई होईन मलाई माग्छ । उसलाई परिवार नै चलाउन गाह्रो छ । त्यो खर्च उसले तिर्न सक्ने अवस्था पनि छैन । त्यसको जिम्मेवारी म आफैले लिएको छु ।’
काशी हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बयाक्ताका हुन् । तर विवाहपछि ससुराली गाउँकै तल्लो खोक्सेलीमा करिब एक रोपनी जग्गा किनेर झुपडी बनाएर बस्दैआएका थिए । करिब तीन महिनामा घर ठडिएपछि छाना भने बडहरेमा सञ्चालित ‘एक घर एक छानो’ कार्यक्रमबाट हालिएको वडाध्यक्ष बस्नेतले बताए । ‘घरको पर्खाल ठडिए पनि छाना हाल्ने काम बाँकी रह्यो,’ बस्नेतले भने, ‘एक घर एक छानो कार्यक्रमका लागि वडाबाट ५ लाख विनियोजन गरेका थियौँ । त्यही कार्यक्रमबाट सम्बोधन हुनेगरी छानो हालिदिएका हौँ ।’
नेपाली परिवारले नयाँ घरमा सरेर गच्छे अनुशार दशैं मनाएका छन् । नयाँ घरमा बस्न पाउँदा नेपाली परिवार हर्षित छन् । विपन्न परिवारका नेपालीले ज्यालामजदुरीको काम गर्दै परिवारको भरनपोषण गर्दैआएका छन् । घर पुःननिर्माण प्राधिकरणको मापदण्ड अनुशार बनाइएकाले आवास अनुदानका लागि पुनरावेदन गर्न लगाइएको वडाध्यक्ष बस्नेतले बताए । ‘दिगोरुपमा बसोबासको व्यवस्था भएपछि काशीको परिवार अत्यान्तै खुसी छ,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जीवनमा यती धेरै खुसी छु, मलाई थप यस्तै सेवा गर्ने उर्जा मिलेको छ ।’