बिहिवार, कार्तिक ६ २०७७
नेपाल वाइड
खोटाङ । कात्तिक ६, खोटाङमा कोभिड–१९ बाट संक्रमितको संख्या लगातार वृद्धि भइरहेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा १ हजार ८८६ जनाको पिसिआर परिक्षण गर्दा हालसम्म ३३ जनालाई कोरोना संक्रमण पूष्टी भएको हो । संक्रमितमध्ये २७ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने ६ जना उपचारमा रहेको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ ।
जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सबैभन्दा बढि संक्रमित भेटिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ७४६ जनाको पिसिआर परिक्षणमा पठाइएकामा १७ जनालाई संक्रमण भएको पूष्टी भएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका संक्रमितमध्ये १० जना प्रहरी जवान छन् ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिकाबाट २८० जनाको नमूना पिसिआर परिक्षणमा पठाइएकामा ४ जना, खोटेहाङ गाउँपालिकाबाट १३३ जनाको पिसिआर परिक्षणमा पठाइएकामा ४ जना, जन्तेढुंगा गाउँपालिकाबाट १२३ जनाको पिसिआर परिक्षणमा पठाउँदा २ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाबाट १४६ जनाको पिसिआर परिक्षणमा पठाउँदा १ जना, साकेला गाउँपालिकाबाट १९८ जनाको पिसिआर परिक्षणमा पठाउँदा ३ जना, ऐसेलुखर्क गाउँपालिकाबाट ७३ जनाको पिसिआर परिक्षणमा पठाउँदा १ जना, बराहपोखरी गाउँपालिकाबाट ५७ जनाको पिसिआर परिक्षणमा पठाइएकामा १ जनालाई संक्रमण पूष्टी भएको प्रशासनले जनाएको छ ।
संक्रमितमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २ जना, साकेला गाउँपालिकाका २ जना, जन्तेढुंगा गाउँपालिकाका २ जना र जन्तेढुंगा गाउँपालिकाका २ जना हाल उपचारमै छन् ।
हालसम्म केपीलासगढी गाउँपालिका र रावाबेँसी गाउँपालिकामा कुनै पनि संक्रमित फेला परेका छैनन् । केपीलासगढी गाउँपालिकाका ८३ जना र रावाबेँसी गाउँपालिकाका ४७ जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।
लकडाउन खुलेपछि र लामो तथा छोटो दुरीको सवारी साधन सञ्चालन सुरु भएपछि आवागमन बढ्दा जिल्लामा कोरोना संक्रमणको त्रास बढेको छ । तर, स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा बेवास्ता बढिरहेको छ ।

जिल्ला प्रशासन कार्यालय खोटाङको कोरोना सम्बन्धी पछिल्लो विवरण