मंगलवार, आश्विन २७ २०७७
नेपाल वाइड
अनलाईन/भर्चुअल अन्तरक्रियामा सहभागी
खोटाङ । खोटाङमा आयोजित एक कार्यक्रममा सहभागी किशोरी छात्राले समाजमा बालिकामाथिको हत्या, हिंसा, बलात्कार, बालविवाह जस्ता सामाजिक अपराधका घट्ना घट्नुको सट्टा बढिरहेको गुनासो गरेका छन् । वातावरणीय कृषि तथा विकास केन्द्र (केड)को सहयोगमा महिला प्रजनन अधिकार कार्यक्रम सञ्चालन गरिरहेको हलेसी विकास मञ्च नेपालले अन्तर्राष्ट्रिय बालिका दिवसको अवशरमा आयोजना गरेको ‘वर्तमान अवस्थामा बालिकाहरुको समस्या/चुनौती र व्यवस्थापन’ विषयक अनलाईन/भर्चुअल अन्तरक्रियामा सहभागी छात्राले किशोरी तथा बालिकामाथिको अपराधिक क्रियाकलापमा संलग्न दोषीलाई कडा कारबाहीको सुनिश्चितताको माग गरेका छन् ।
‘मेरो आवाज, हाम्रो समान भविष्य’ भन्ने नाराका साथ आयोजना गरिएको भर्चुअल अन्तरक्रियामा सहभागी देउराली माबि डुम्रेधारापानीकी छात्रा बिनुकला श्रेष्ठले ललाई फकाई तथा परिवारकै दवावमा अहिले पनि बालबिवाह भइरहेको गुनासो गरेकी छन् । छात्रा श्रेष्ठले महिनावारी भएको समयमा अहिले पनि बालिकालाई छुई बार्न लगाइने गरेको चर्चा गरिन् । ‘अहिले पनि बालबालिकाको हत्या, हिंसा, बलात्कार र वालबिवाह भइरहेको छ । महिनावारी भएको समयमा बार्न लगाइन्छ,’ श्रेष्ठले भनिन्, ‘बालिकामाथि भइरहेका सामाजिक अपराधमा संलग्न व्यक्तीलाई कडा कारबाही हुनुपर्छ । तर यस बारेमा वडा तथा सरोकारवाला निकालयले चासो दिएको छैन ।’
कार्यक्रममा सहभागी गंगोद्धय माबि दुबेकोलमा अध्ययनरत किशोरी सञ्जु राईले वालबिवाहका कारण किशोरीको शारीरिक र मानसिक स्वास्थ्यमा नकरात्मक अशर परिरहेको उल्लेख गरिन् । उनले बालिका तथा किशोरीलाई बालबिवाहबाट जोगाउनका लागि स्थानीय सरकारले उचित कदम चाल्नु पर्ने धारणा राखेकी छन् । यस्तै, गंगोद्धय माबिकै छात्रा सुमिक्षा निरौलाले विद्यालयमा सेनीटरी प्याड, छात्रामैत्री शौचालय तथा पानीको व्यवस्थापन नहुँदा किशोरी छात्राले समस्या भोग्नु परिरहेको बताईन् ।
शारदा माबि हौंचुरमा अध्ययनरत किशोरी कोपिला विकले स्थानीय सरकारले विद्यालयमा किशोरी लक्षित कार्यक्रम गर्नुपर्नेमा जोड दिएकी छन् । रावाबेसी गाउँपालिकाका शिक्षा शाखा प्रमुख तिर्थराज दाहालले बालिका तथा किशोरीको समस्याको उचित व्यवस्थापनका लागि नेपालको संविधान २०७२ को धारा ३८ र ३९ लाई अक्षरस पालना गर्नुपर्ने धारणा राखेका छन् ।
कोरोना भाईरस (कोभिड–१९) ले प्रभाव पारिरहेको विषम परिस्थितिलाई ख्याल गर्दै हलेसी विकास मञ्चले सोमबार भर्चुअल माध्यमबाट अन्तरक्रीया गरेको हो । कार्यक्रममा ‘बालिकाहरुको वर्तमान अवस्था र आगामी बाटो’को बारेमा वातावरणीय कृषि तथा विकास केन्द्र (केड)का कार्यक्रम संयोजक लोचन श्रेष्ठले प्रस्तुतिकरण गरेपछि सहभागीले आ–आफ्नो धारणा राखेका थिए ।
भर्चुअल कार्यक्रममा रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला, उपाध्यक्ष समला राई, प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापा, वडाअध्यक्ष, वातावरणीय कृषि तथा विकास केन्द्र (केड) कार्यकारी निर्देशक समिता प्रधान, नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दमन राई, रावाबेसी गाउँपालिकाका विषयगत शाखाका प्रमुख, विद्यालयका प्रअ, किशोरी छात्रा लगायतको सहभागीता रहेको थियो ।
वातावरणीय कृषि तथा विकास केन्द्र (केड)ले पाठेघर खस्ने समस्याका विषयमा जिल्लामा सन् २०१५ मार्चबाट समुदायमा आधारित रोकथाम, किशोरी सशक्तीकरण र वकालतका काम गरिरहेको छ ।
हलेसी बिकास मञ्चसँगको सहकार्यमा रावाबेँसी गाउँपालिकाको डुम्रेधारापानी र दुबेकोल तथा ग्रामिण युवा सशक्तीकरण अनुसन्धान केन्द्रसँगको सहकार्यमा ऐसेलुखर्क गाउँपालिकाको राखाबांदेल, ऐसेलुखर्क र माक्पामा महिला प्रजनन अधिकार कार्यक्रम सञ्चालन गरिरहेको केडले जनाएको छ ।