आइतवार, आश्विन २५ २०७७
नेपाल वाइड
खोटाङ । असोज २५, खोटाङमा एक जना संक्रमित थपिएका छन् । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका एक पुरुषलाई कोरोना संक्रमण पूष्टी भएको हो । गत असोज ९ गते घर आइपुगेका पुरुषलाई कोरोना संक्रमण पूष्टी भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक यदुकुमार बस्नेतले बताए ।
गत असोज २० गते गाउँपालिकाबाट ३९ जनाको स्वाव संकलन गरेर पिसिआर परिक्षणमा पठाउँदा एक जनालाई कोरोना पोजिटिभ देखिएको हो । उनलाई कुनै पनि लक्षण नदेखिएकाले होमआइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा संयोजक बस्नेतले बताए । कोरोना संक्रमण पूष्टी भएका जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका एक महिला पुरुषसँगै जिल्ला भित्रिएका उनलाई पनि संक्रमण पूष्टी भएको हो । खोटेहाङ गाउँपालिकामा मात्र संक्रमितको संख्या ४ पुगेको छ ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म संक्रमितको संख्या ३० पुगेको छ । संक्रमितमध्ये २१ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने ९ जना उपचारमा रहेको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डाक्टर शैलेस श्रेष्ठले बताए । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सबैभन्दा बढि संक्रमित भेटिएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पिसिआर परिक्षणमा पठाइएका मध्ये १६ जनालाई संक्रमण भएको पूष्टी भएको छ । हलेसी तुवाचुङ नगरपालिकाका ४ जना, जन्तेढुंगा गाउँपालिकाका २ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १ जना, साकेला गाउँपालिकाका १ जना, ऐसेलुखर्क गाउँपालिकाका १ जना, बराहपोखरी गाउँपालिकाका १ जनालाई संक्रमण पूष्टी भएको छ । हालसम्म केपीलासगढी गाउँपालिका र रावाबेँसी गाउँपालिकामा कुनै पनि संक्रमित फेला परेका छैनन् ।