शनिवार, आश्विन २४ २०७७
नेपाल वाइड
खोटाङ । असोज २३, खोटाङमा श्रीमानको कुटपिटबाट गम्भीर घाईते भएकी महिलाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा तालखर्कका डम्बरबहादुर गिरीको कुटपिटबाट ४४ वर्षीय श्रीमती ज्ञानकुमारी पुरीको मृत्यु भएको हो । श्रीमानले प्रहार गरेको लोहोरो ढुंगाले लाग्दा गम्भीर घाईते भएकी ज्ञानकुमारीको उपचारका लागि काठ्माण्डौं लैजानेक्रममा शुक्रबार बाटैमा मृत्यु भएको हो ।
शुक्रबार बिहान श्रीमानको कुटपिटकाक्रममा भाग्दै छिमेकी खड्ग गिरीको घरमा पुगेकी ज्ञानकुमारी बेहोस भएर ढलेकी थिईन् । उनलाई प्रहरी र आफन्तको सहयोगमा जिल्ला अस्पताल दिक्तेलमा पुर्याइए पनि उपचार नभएपछि रेफर गरिएको थियो । उनको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको खोक्सेलीमा पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए ।
श्रीमती कुटपिट गर्ने डम्बरबहादुर भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनापछि गिरी दम्पतीको पाँच छोराछोरीको बिचल्ली भएको छ ।