बुधवार, आश्विन २१ २०७७
नेपाल वाइड
लुङमाहिम काईलाको परिवारलाई सहयोगार्थ जम्मा गरिएको बैक रसिद
खोटाङ । असोज २१, फोक्सो, मुटु लगायतका गम्भीर रोगका कारण ज्यान गुमाएका ताप्लेजुङ पाथीभरा याङबरक गाउँपालिका–३ तिरिंगेका साहित्यकार एबं पुर्वशिक्षक लुङमाहिम काईला (भिम इजम)को परिवारको सहयोगार्थ खोटाङबाट ७६ हजार पठाइएको छ ।
फोक्सोको इन्फेक्सनपछि मुटुमा परेको असरले जलोदर (पेटमा पानी जम्ने समस्या)ले ज्यान गुमाएका इजमको परिवारको सहयोगार्थ जिल्लामा ७६ हजार २ सय रुपैयाँ संकलन गरेर पठाइएको हो ।
गम्भीर रोगबाट पिडित इजनको उपचार सहयोगका लागि जिल्लामा ‘लुङमाहिम काईला उपचार सहयोग अभियान’ सञ्चालन भइरहेकै अवस्थामा उनको मृत्यु भएपछि संकलित रकम बुधबार परिवारको नाममा पठाइएको लुङमाहिम काईला उपचार सहयोग अभियानले जनाएको छ ।
सहयोगका अभियानकर्मीले लुङमाहिमको उपचारको नाममा संकलित रकम उनकै श्रीमती सीता चोङबाङको नाममा सिद्धार्थ बैंकको पथरी शाखामा जम्मा गरिदिएको जनाएको छ । संकलित रकम दुई सन्तानको पालन–पोषण र शिक्षादिक्षाका लागि परिवारको नाममा पठाइएको लुङमाहिम काईला उपचार सहयोग अभियानका आर्थिक संयोजक सीता थुलुङले बताईन् ।
लुङमाहिम काईला उपचार सहयोग अभियानकर्मीले मंगलबार दिक्तेल एकेडेमीको कार्यालयमा श्रद्धाञ्जली एबं रकम सार्वजनिकीकरण कार्यक्रम गरेको थियो । लुङमाहिमको उपचारका लागि ४८ जना दाताबाट सहयोग रकम संकलन गरिएको लुङमाहिम काईला उपचार सहयोग अभियानका संयोजक किरणजित राईले बताए ।
फोक्सोको इन्फेक्सन भएपछि २०७१ सालदेखि बिरामी परेका लुङमाहिम काईलाको गत असोज ४ गते शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको थियो । घर ताप्लेजुङ भए पनि स्वास्थ्य समस्यका कारण लुङमाहिम शनिश्चरेमा बस्दै आएका थिए ।

फोक्सो, मुटु लगायतका रोगका कारण ज्यान गुमाएका लुङमाहिम काईला