मंगलवार, आश्विन २० २०७७
नेपाल वाइड
लुङमाहिम काईला उपचार सहयोग अभियानले आयोजना गरेको श्रद्धाञ्जली एबं रकम सार्वजनिकीकरण कार्यक्रममा सहभागीहरु
खोटाङ । असोज २०, उपचारकाक्रममा ज्यान गुमाएका ताप्लेजुङ पाथीभरा याङबरक गाउँपालिका–३ तिरिंगेका साहित्यकार एबं पुर्वशिक्षक लुङमाहिम काईला (भिम इजम)को परिवारको सहयोगार्थ खोटाङमा सहयोग संकलन गरिएको छ । फोक्सोको इन्फेक्सनपछि मुटुमा परेको असरले जलोदर (पेटमा पानी जम्ने समस्या)ले ज्यान गुमाएका इजमको परिवारको सहयोगार्थ जिल्लामा ७५ हजार ६९७ रुपैयाँ संकलन भएको हो ।
गम्भीर रोगबाट पिडित इजनको उपचार सहयोगका लागि जिल्लामा ‘लुङमाहिम काईला उपचार सहयोग अभियान’ सञ्चालन भइरहेकै अवस्थामा उनको मृत्यु भएपछि संकलित रकम परिवारको नाममा पठाउन लागिएको हो । मंगलबार दिक्तेल एकेडेमीको कार्यालयमा आयोजित श्रद्धाञ्जली एबं रकम सार्वजनिकीकरण कार्यक्रममा लुङमाहिम काईला उपचार सहयोग अभियानका आर्थिक संयोजक सीता थुलुङले संकलित रकम दुई सन्तानको पालन–पोषण र शिक्षादिक्षाका लागि परिवारको नाममा पठाउने तयारी गरिएको जानकारी दिइकी छन् ।
फोक्सोको इन्फेक्सन भएपछि २०७१ सालदेखि बिरामी परेका लुङमाहिम काईलाको गत असोज ४ गते शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको थियो । लुङमाहिमको उपचारको नाममा संकलित रकम उनकै श्रीमती सीता चोङबाङको नाममा सिद्धार्थ बैंकको पथरी शाखामा जम्मा गरिदिने तयारी गरिएको लुङमाहिम काईला उपचार सहयोग अभियानका संयोजक किरणजित राईले बताए ।
घर ताप्लेजुङ भए पनि स्वास्थ्य समस्यका कारण लुङमाहिम शनिश्चरेमा बस्दै आएका थिए । श्रद्धाञ्जली एबं रकम सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथिकारुपमा जिल्ला निर्वाचन अधिकारी कोपिला राई, नेकपाका जिल्ला कमिटि सदस्य ओमप्रकाश घिमिरे, कांग्रेसका जिल्ला कमिटि सदस्य डिल्लीकुमारी आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राई, अभियानका सहजकर्ता सञ्जयकुमार राई, गैसस महासंघका सचिव युवराज रिजाल र साहित्यकार चित्र सुबेदीले अभियानको प्रशंसा गरेका छन् ।