Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    नियात्रा !

    पवित्र भुमि – ‘जेरुसेलम’

    पवित्र भुमि – ‘जेरुसेलम’


    • आइतवार, आश्विन १८ २०७७

    • नेपाल वाइड


    पवित्र भुमि – ‘जेरुसेलम’

                                  भीम राई

    नियात्रा !

                                                   पवित्र भुमि – ‘जेरुसेलम’

          “जिन्दगी एकदम छोटो तर पुग्नु पर्ने निक्कै धेरै छन्” भन्दै जुलाई २०१४ मा हामी तेल अभिव पुगेका थियौ । भूमध्य सागरको दायाँ किनारमा अबस्थित तेल अभिव जेरुसेलम पिछाडि इजरायलको दोश्रो ठुलो सहर थियो । तेल अभिव देखि गुडेको एउटा ट्याक्सि मध्यपूर्वको पार्टी क्यापिटल भनेर चिनिने जेरुसेलमको एक चक्कर मारेर पश्चिमी पर्खालमा रोकिएको थियो । ट्याक्सि रोकिने साथ तारा र म पर्खालको सिधै अगाडि रहेको बिशाल चोकमा पुगेका थियौ ।  

          यहुदिहरुको महापर्व ‘सुकोत’ को बेला लगभग साठि हजार मानिसले टन्न भरिने त्यो चोक त्यसदिन त्यति ब्यस्त देखिएका थिएनन् । हामी त्यहाँ पुग्दा मानिसहरु जति नै अग्लो फलामे पाताले बारेर चोकलाई दुई भागमा छुट्याईएका प्रष्टै देखिन्थे । तिनै पवित्र तिर्थ स्थलको दाहिने तिर महिलाहरुको लागि प्रार्थना गर्ने छुट्टै सानो ठाँउ थियो । र, देब्रे तिर पुरुषको लागि निक्कै धैरै ठाँउ छुट्याईएको थियो ।

        हामी त्यहाँ पुगेर पहिले बायाँ तर्फ मोडियौ, किनभने त्यो कुनामा एक हुल तिर्थ यात्रिहरु झुरुप्पै उभि रहेका देखिएका थिए । जब हामी उनिहरुको नजिक पुग्यौ, तब हामीलाई थाहा भयो कि त्यहाँ अलिखित कागजका टुक्राहरु लिन पाईने रहेछन् । 

        मैले पनि त्यहाँ पुगेर थपक्कै कागजका दुई वटा टुक्राहरु टिपे । एउटा टुक्रा म सँग सँगै राखे र अर्को तारालाई दिए । कागज राखिएको नजिकै कुनामा केहि सिसाकलमहरु पनि थिए । एउटा सिसाकलम टिपे र तिनै टुक्रा कागजमा मेरा मनमा लागेका अभिलाषाहरु साना तिना अक्षरहरुमा परिणत गरे ।  

    मैले त्यति लेखि सकेपछि –

    “तिमीलाई मनमा जे जे लागेका छन् त्यहि कुरोहरु लेखेर छाड,” भन्दै त्यो सिसाकलम तारालाई दिए ।

    कुना पट्टि घोप्टिएर उनले पनि केहि लेख्न थालिन तर कुन्नि के के लेखीन मैले केहि जान्न खोजिन । उनले लेखि सकेपछि केहि नबोलि सरासर महिलाहरुले प्रार्थना गर्ने ठाँउ तिर लागिन ।

    तारा महिलाहरुको भिड भित्र पसिन र सुस्तरि मेरो दृष्टिबाट बिलीन हुदै गईन । उनी पुर्ण रुपले बिलुप्त भएपछि म पनि मेरो बाटो लागे । तर मेरो सिधै अगाडि एउटा टेबल देखा पर्यो । त्यस टेबल माथि पुरुषहरुले तालु ढाक्दा प्रयोग गरिने किप्पाहरु राखिएका थिए ।

    ‘वेस्टर्न वाल’ पश्चिमि पर्खालमा पुग्ने हरेक पुरुषले टोपि लगाएर टाउको लाई अनिबार्य ढाक्न पर्थ्यो । त्यसैले किप्पा देख्ने बितिक्कै एउटा टिपे र शिर माथि लगाई हाले । तर कतै टाउको देखी खसि हाल्छन् कि भनेर एक चोटि निश्चित गरे । त्यसपछि लम्रङ लम्रङ हिडदै जादा केहि अगाडि पुगेर मेरा कदमहरु अनायसै रोकिन पुगे ।

    म जहाँ उभिएको थिए, त्यहाँ बाट पश्चिमि पर्खालको पुरै भाग छ्याङ्गै देखिएका थिए । चुन ढुङ्गा बाट निर्मित पर्खाल लगभग दुई सय फिट जति लामो थियो । जसलाई यहुदिहरुले छोटकारिमा ‘कोटेल’ भनेर चिन्दथे । पर्खालको मुनिको भागमा ज्यादै ठुल्ठुला ढुङ्गाहरु थिए । अनि जति जति उभो जान्थ्यो ढुङ्गाको आकार घटदै घटदै जाँदा करिब ६० फिट सम्मको उचाँईमा पुगेर पर्खाल सकिएको थियो ।

    कोटेलको सिधै पिछाडि पट्टि “डोम अफ द रक” थियो । जसको छानो सुनौला रङ्गका तर अर्ध अण्डाकार देखिन्थे । मैले नियालेर हेरि रहदा त्यो गुम्बज कता कता मध्यान्हको सूर्य सगँ लुकामारि खेलि रहेको जस्तो आभास हुन्थ्यो ।  

    म बिश्वको अति कम बिकशित राष्ट्रमा हुर्केको र फिरन्ते हुदै पबित्र भुमि, ‘जेरुसेलम’ पुगेर सुन देखि बनेका गुम्बजको ढाँचाकाँचा हेर्दा मेरा घोक्रो बाट एक मुठि लोभको थुक उब्जियो । एकछिन पछि त्यो अजिर्णको अमिलो थुकलाई घुटुक्क गर्दै निलेर बिदाई गरि पठाई दिए । तर एउटै पर्खालको पारी पट्टि मुसलमानहरुको त्यति बिशाल मस्जिद र पर्खालको वारी पट्टि यहुदिहरुको पवित्र स्थललाई सम्झदा भने मेरो आङ सिरिङ्ग भै रह्यो ।   

    जिन्दगीमा एक पटक पुग्नै पर्ने त्यो पवित्र पर्खाल लाई रोमन सम्राट ‘हेरेड द ग्रेट’ ले निर्माण गरेका थिए । इसा पुर्ब १९ अथवा लगभग दुई हजार बर्ष अगाडि बनेको पश्चिमि पर्खाल पुग्दा केहि बेर हर्षले आनन्दित बनि रहे । त्यसपछि पर्खालको नजिक पुगेर अल्प छिद्रमा मेरो आकाङ्क्षा पत्रलाई काच्चक कुच्चुक बनाएर जब्बरजस्ति अडकाई दिए ।

    “के तपाई पनि यहुधि धर्मको अनुयायी हो ?”

    पर्खाल बाट हात हटाएर फर्कदै गर्दा एकजना अपरिचित ब्यक्त्तिले मलाई अचानक त्यस्तो प्रश्न गरे । उसको प्रश्न सुनेर म झसङ्ग झस्के ।

    “धर्म मानिसका लागि अफिम हुन्,” भन्ने बिचार लिएर शेष जीवन नास्तिक बनाई सकेको थिए । तर अचानक यहुदिहरुको पवित्र तिर्थ स्थल अगाडि आएको त्यस्तो प्रश्नको जबाफ अब के दिने होला भनेर एक छिन दुबिधामा परि रहे ।  

    “के तपाई पनि जापानिज हो ?”

    उसले अङ्ग्रेजी भाषामा नै दोश्रो चोटि मलाई सोधे । त्यसपछि मैले टाउको हल्लाएर ‘होईन, होईन’ भन्दै मेरो मौनता लाई भङ्ग गरि दिए ।

    त्यसरि मलाई प्रश्न गर्ने मानिस जापानिज मुलका नागरिक थिए । र, उसको नाम ‘हारुकि मुराकामी’ भनेर मलाई बताए । त्यति मात्रै नभएर उनि यहुदी धर्मावलम्वि भएको सम्म मलाई सुनाए । उनको भनाईले मलाई खासै असर त परेन तर उसले मलाई जापानिज जस्तो देखेका र यहुदीहरुको तिर्थ स्थलमा भेट्दा यहुदि धर्मावलम्वी होलान कि भन्ठानेका थिए । बरु मैले उनलाई प्रति उत्तर दिने क्रममा सामन्य झारपात हुँ भनेको सुनेर बिचरा मुराकामी धिर सोचाईमा परि रहेका थिए ।    

    मन भित्र लागेका आकाङ्क्षा पर्खालमा सेलाएर फर्कदै गर्दा भेटिएका जापानिजले मलाई तर्सेको मिर्ग झै बनाई दिए । त्यसपछि पुन: म एक धुनमा हिडन थाले ।

    ताराले केहि समय अगाडि देखि चोकको बिचौ बिच भागमा मेरो प्रतिक्षा गरेर उभि रहेकी थिईन । उनले मलाई देख्ने बितिक्कै हामीले पर्खालमा राखि छाडेका ‘विस’ हरु अब के हुन्छ भनेर सोधिन । सबै कागजका टुक्राहरु बटुलेर बर्षको दुई चोटि जलाइन्छन् । नत्रभने यहुदिहरुको समाधिस्थल नजिकै गाडने चलन छ भनि दिए ।   

    त्यसपछि हामी क्रमश: हिडदै ट्याक्सिको नजिक पुग्यौ । चालक बेन्जामिनले डेढ घण्टा अगाडि देखि हामीलाई पर्खेर बसि रहेका थिए । ट्याक्सि भित्र पसेर सिटको पेटि बाध्न नपाउदै उसले ट्याक्सिको चक्का गुडाई हाले ।

    हामीले हात हल्लाएर ‘जेरुसेलम’ बाइ बाई भन्दै ओल्ड सिटी जेरुसेलम लाई सधैको लागि बिदा गर्यौ । लगभग आँधा घण्टाको यात्रापछि संसारको सबैभन्दा जोखिम पुर्ण ईजरायल र पेलेस्टाईन सिमाना “एरिया ए जोन” पुगेका थियौ । तिनै सिमानामा भिमकाया कँक्रिटका अबरोधहरुले राष्ट्रको पहरेदार गरि रहेका थिए । बिबिसी टेलिभिजनको पर्दामा देखिने बिबादित सिमाना आफ्नै अगाडि देख्दा हामी केहिबेर उदाश बनि रह्यौ ।

    अझै कँक्रिट बाट निर्मित बडेमाको त्यो पर्खाललाई ईजरायलिहरुले “आतङ्ककारि छेक्ने पर्खाल” भन्ने उपनाम दिएको सम्झदा म झन झन भावुक बनि रहे । अनि पटक पटक आरपिजीको निशाना बन्नु पर्ने त्यो सिमानामा पुग्दा किन किन मेरो हृदय बिराजि भै रहेका थिए ।

    सिमानाको ठिक अगाडि पुगेर अन्तिम चोटि ट्याक्सि रोकियो । बेन्जामिन लाई त्यँही बाट बिदा गरेर तेल अभिव फर्काई दियौ । किनभने सिमानाको पारी पट्टि इजरायली गाडीहरु जान प्रतिबन्धित थिए । अनि तारा सँग जोडि मलसाप्रो झै लुखुर लुखुर हिडेर अध्यागमन भित्र छिर्न थालेका थियौ ।

    केहिबेर हिडेर बिश्वको अति खतरा पुर्ण सिमाना पार गर्दै गर्दा उच्च सतर्कता अपनाउनु पर्छ भनेर मैले तारालाई सुटुक्क सुनाउदा, “त्यस्तो जाबो कट्टुमा पिशाब फेर्दै फेर्दै हिडनेले के संसार घुम्न रहर गर्नु पर्ने होला ?” भन्ने नमिठो जबाफले मेरो कानको जालि नै फुटे झै बोध भयो ।  

    त्यै पनि उनको भनाई लाई मैले ‘परालको आगो’ सँग तुलना गरे र मेरा कदमहरु क्रमश: अगाडि चालि रहे । त्यसरि हिडदै जादा समय समयमा आएको मन्द मन्द हावाको गतिले मेरो अनुहारमा हल्का छोई रहेको आभास हुन्थ्यो । तर जेरुसेलमको त्यस दिन भयङ्कर गर्मिले गुज्रि रहेको थियो । पवित्र भुमिको प्रचण्ड गर्मि र जोखिम पुर्ण सिमानामा उत्पन्न भयले मेरो कमिज लुत्थुक्रै भिजेका थिए ।

    एक हातमा पानीको बोतल र अर्को हातमा कुसुमे रुमाल लिएर बल्ल तल्ल इजरायली अध्यागमन कर्मचारी बैनीको अनुहार नजिक पुग्दा मैले थोरै शान्तीको सास फेरेका थिए ।

    मेरो सम्पुर्ण शरिर पसिनै पसिना भएका थिए । तै पनि त्यहाँ पुगेर हल्का मुस्कान सहित मेरो राहदानी उनलाई थपक्कै टक्रयाई दिए । उनको हातमा राहदानी परेपछि मलाई एक झलक मज्जाले हेरिन । अनि एक्कै शब्द नबोलि पानाहरु फरर पल्टाईन । त्यसपछि फिसिक्कै मुस्कानका साथमा राहदानी फर्काई दिईन । उनलाई भारी कृतज्ञाता प्रकट गर्दै फेरि भेटौला है ‘देबेर इटि’ भन्दै बिदा भए ।    

    अध्यागमनको सुनसान कोठाको भुईमा सिङ्गमरमर बिछ्याईएका थिए । हामी तिनै माथि टक टक जुत्ताको आवाज निकाल्दै केहिबेर नबोलि हिडि रहयौ । त्यसरि हिडदै गर्दा मेरो लिभरपुलको अनन्य मित्र जोन फिलिप्सको एउटा भनाई लाई त्यहाँ पुगेर झल्यास्स सम्झे ।

    “तपाईले जेरुसेलम छान्ने होईन, जेरुसेलमले तपाई लाई छान्ने छन् ।”

    साच्चै अनेकन ब्याबधानहरु पार गर्दै हामी जेरुसेलम पुगेका थियौ । उसको त्यो महानबाणी सम्झदा मेरो हृदयको एउटा कुनामा यदाकदा घोचि रहेको अनुभूति भयो ।

    हामी अध्यागमन पार गरेपछि बिस्तारै बाहिर निस्क्यौ । त्यतिबेला हाम्रा कदमहरु वेस्ट बैकं, पेलेस्टाईनमा परि सकेका थिए । त्यहाँ देखि लगभग तिन सय मिटर जति अगाडि हिडेर ट्याक्सि स्टेसनमा पुग्यौ । स्टेसन पुग्ने बितिक्कै एउटा ट्याक्सि समात्यौ र जेसस क्राईष्टको जन्मस्थल ‘चर्च अफ नाटीभिटी’ जानको लागि चालकलाई अनुरोध गर्यौ ।

    चालकले औलामा गन्न सकिने अङ्ग्रेजि शब्दहरु मात्र बोल्न जान्दथे । तै पनि यात्रृ पाउन अगावै ह्याण्ड ब्रेक खोलेर हिडनको लागि तयार थिए । जब हामी ट्याक्सि भित्र पस्यौ तब ट्याक्सि ओरालोमा आफै गुडन थाल्यो । ट्याक्सि गुडन थाले पछि पेलेस्टाईनका एकदम उजाड भुमि एवम सुख्खा जमिनहरु क्रमश: देखा परि रहे । तिनै पुर्व रणभूमिको बिरमाईलो दृश्य देख्दा हाम्रा कोमल हृदयहरु बितृष्णा सहित भौतारिन थाले ।

    जति जति ट्याक्सि अगाडि गुडदै जान्थ्यो । बाटोहरु स-साना धागाका डोरा जत्रा देखिन्थे । त्यति सानो बाटोमा फुच्चे ट्याक्सिले घरि उकालि र घरि ओरालि गरि रह्यो । अझै अनगिन्ति घुम्तिहरुमा पिङ खेलाउदै लादा ताराले बिहानै हसुरेका ‘इजरायलि ब्रन्च’ लाई हुलुलु ओकली पठाईन । फर्मुला वानका बिश्व च्याम्पियन चालक लुविस ह्यामिल्टनको नक्कल गर्दै ट्याक्सि हाक्ने पेलेस्टाईन चालक अबदुल्लाले तारालाई अर्धलाश बनाएर क्रिस्चियनहरुको पबित्र धार्मिक स्थल बेत्लेहेमको ‘नाटिभिटी’ मा मुश्किलले पुर्यायो ।   

    DSCF1365.JPG


    हामी नाटिभिटी गिर्जाघर पुग्दा बेत्लेहेमको समय दिउसोको दुई बजि सकेको थियो । चट्टानको बिचौ बिच भागमा बनेका तिनै सुन्दर गुफा भित्र परम प्रभु जेसस क्राईष्टको जन्म भएको थियो । उहाँ जन्मनु भएको लगभग तीन सय बर्षपछि तत्कालिन रोमन साम्रज्य ‘कन्स्टान्टिन महान’ ले त्यो गिर्जाघरको निर्माण गरि दिएका थिए ।  

    गिर्जाघर निर्माण भएको लगभग दुई सय बर्ष पछि समारिटान बिद्रोहिले त्यहाँ हमला गरेका थिए । त्यो हमलाले गिर्जाघर भत्केर पुर्ण नष्ट भएको थियो । धैरै लामो समय पछि बाँकी रहेका देवल र ढुङ्गाहरु लाई जतन गरेर बैजान्टिन सम्राज्यले पुन: नाटिभिटीको पुर्ण रुप दिएका थिए । जहाँ ‘रोमन क्याथोलिक’ र ‘ग्रिक अर्थोडक्स’ गिर्जाघरहरु समानन्तर रुपले खडा भएर रहेका थिए ।  

    हामी केहिबेर गिर्जाघर बाहिर प्राङ्गनमा आराम गरेर बस्यौ । थोरै आराम गरेपछि ताराको अनुहारमा हल्का सूर्यको लाली उदाउन थाल्यो । त्यसपछि शिर निहुराएर मुख्य द्वार बाट भित्र छिर्यौ । गिर्जाघर भित्र पस्ने बितिक्कै देखिएको भक्त्तहरुको भिडले ताराको खुशि त्यति धेरै लामो समय थाम्न सकेनन् ।

    गिर्जाघर भित्र लगभग पाँच सय जना जति मानिसहरु देखिएका थिए । त्यति धेरै भिड देखेर कटक्कै भाँचिएको ताराको मन जोडन मैले पानीको बोतल खोलेर थपक्कै टक्र्याई दिए ।

    हामी पवित्र भुमि - जेरुसेलम देखी करिब पाँच हजार किलोमिटर टाढा लण्डन बाट आएका थियौ । जेसस क्राईष्टको जन्म स्थान हेर्न आतुर आतुर हाम्रा अनुहारहरु भिड देखेर कच्याक्क कुच्चुक भएका थिए । तर हामी सँग केहि अन्य उपाय नभए पछि आफ्नो पालो पर्खेर पङ्त्तिबध्द भएर उभि रह्यौ ।   

    अति पट्यार लाग्दो प्रतिक्षाको घडि लगभग दुई घण्टा पछि अन्त भयो । त्यसपछि हामी गिर्जाघर भित्रको सानो ढोका अगाडि पुगेका थियौ । जुन ढोका बाट मुश्किलले एक जना मानिस मात्र भित्र पस्न मिल्दथे । हामी पनि पालै पालो ढोका देखि भित्र पस्यौ । अनि दुई चार सिढि हिडेर मुनि तलामा झर्यौ । जहाँ कुमारी आमा म्यारीले जेसस क्राईष्टलाई जन्म दिएकी थिईन ।

    उहाँ जन्मेको भुईमा एउटा गोलाकार प्वाल थियो । त्यो प्वालको वरिपरि चौध वटा चुच्चाहरु थिए । ताराका रुप लिएका चौध चुच्चाहरुले अब्राहम देखि डेभिड सम्म चौध पुस्ताहरुको प्रतिनिधित्व गर्दथ्यो । कालान्तरमा डेभिड बेबिलोनमा निर्वासित जिवन यापन गर्न पुगेका थिए । अझै त्यो ताराले डेभिड देखि चौधौ पुस्तामा जेसस क्राईस्ट जन्मेको पनि जनाउदथ्यो ।

    हामी जहाँ बाट भित्र पसेका थियौ । त्यसको बिपरित दिशामा निस्कने अर्को दैलो पनि थियो । तिनै दैलो बाट बाहिर निस्कदै गर्दा अचानक हाम्रो भेट पाब्लो सँग भयो । उनि ब्युनस आइरस, अर्जेन्टिना देखी आएका रहेछन् । हाम्रो संक्षिप्त भेटमा उसले जेसस क्राईष्टको बिषयमा केहि सुचना प्रबाह गर्न थाल्यो ।

    जेसस क्राईष्टको जन्म २५ डिसेम्बरमा यहि भएको थियो । जुन कुरा बाईबलको नया नियममा सत्यतत्य बताउने गोस्पल म्याथुले भनेका छन् । गोस्पल लुकका अनुसार चाँही उहाँ जन्मनु भएको खबर सबैभन्दा पहिले नजिकै भेडा चराई रहेका गोठालाहरुले पाएका थिए । देवदुतले त्यो खवर गोठालाहरु लाई भगवानका सन्देश वाहक जेससको जन्म भएका छन् भनेर बताएका थिए ।

    देवदुतले दिएको शुभ खबर पाएपछि एक हुल भेडा गोठालाहरु यिनै गुफामा आएका थिए । उनिहरुले यहाँ गाई बस्तुलाई खाना खुवाउने काठका डुँडमा थाङ्नाले बेरेर सुति रहेका एउटा बच्चा लाई देखेका थिए । र, बच्चाको नजिकै उहाँको कुमारी आमा “भर्जिन म्यारी” बसि रहेकी थिईन ।

    हामीलाई त्यति भनेर पाब्लो हाम्रो अगाडि अगाडि हिड्यो । म अन्य कुरोहरु बुझ्नको लागि उनको पछि पछि लागि रहे । उ सरासर गिर्जाघर देखि बाहिर निस्क्यो । म पनि बाहिर निस्केर पछ्याउदै फेरि उसको नजिकै पुगे । त्यसपछि उसले मलाई जेससको बारेमा पुन: बताउन थाले ।   

    जेसस जन्मेपछि यहुदिहरुले भगवानका सन्देश वाहक जेसस क्राईष्टलाई परम प्रभु येसु भनेर सम्बोधन गर्न थालेका थिए । जेससको जन्म डिसेम्बरमा भनिएको छ । तर ठ्याक्कै कहिले होला, भनेर किटन गर्न चाँही निक्कै मुस्किल नै पर्दछ । किनभने उहाँको जन्म भएको तीन सय बर्ष पछि मात्रै सबै कुरोहरु बाहिरी संसारमा आएका थिए ।

    तर एउटा रोचक पक्ष चाँही के भयो भने प्रभु येसु यहुदिहरुको भविष्यका राजा हुन भन्ने हल्ला ईजरायल भरि फैलियो । जुन होहल्ला तत्कालिन शक्त्तिशालि रोमन सम्राट ‘हेरोड महान’ को कान सम्म पनि पुग्यो । त्यो हल्ला सुन्ने बितिक्कै सम्राट हेरोडले उहाँको दर्शनको लागि अनुरोध गर्नु भयो । परम प्रभुको दर्शन अशफल भएपछि सम्राट हेरोडले त्यस क्षेत्र वरिपरिका दुई बर्ष भन्दा मुनिका सबै बच्चाहरु लाई मार्ने उदघोष गर्नु भयो ।

    त्यो निर्दोषहरुको हत्याकाण्ड “मसाकार अफ इन्नोसेन्ट” चाँही इसा पुर्व ४ (बिसी) मा भएको थियो । यदि त्यसैलाई आधार मान्ने हो भने जेसस क्राईष्टको जन्म त्यस्तै इसा पुर्व ४ (बिसी) देखि इसा पुर्व ६ (बिसी) भित्र भएको हुन सक्त्तथ्यो ।   

    पाब्लोले त्यति भनि सकेपछि उसको श्रीमती नजिकै आई पुगिन । उनको अचानक उदय भएपछि सोफिया सँग हाम्रो सानो परिचय भयो । उनि गिर्जाघर बाट बाहिर निस्कन केहि धिलो गर्नाले प्रभुको भक्त्त पाब्लो बाट मैले धरै ज्ञान आर्जन गर्न सके । त्यसपछि उनिहरु हामी बाट सधैको लागि बिदा भए ।

    DSCF1342.JPG

    त्यसबेला गिर्जाघरको समय ठेक्कै साढे चार बजि सकेको थियो । हाम्रो नजर बाट पाब्लो र सोफिया बिलिन भएपछि तिनै गिर्जाघर लाई ब्रम्हाण्डको बिचौ बिच “सेन्टर अफ युनिभर्स” मानेर केहिबेर त्यँही उभि रह्यौ ।   

    त्यसपछि म थोरै अगाडि हिडेर प्राङ्गनको छेउमा पुगे । अनि दाहिने हातले गिर्जाघरको पर्खाललाई छोएर केहिबेर गज्रक्क परेर घोत्लि रहे । मेरो सामुन्ने वेस्ट बैकंका उजाड हरहोमा गाउको पातलो बस्ति देखा परि रहेको थियो । अझै डेविड पर्वत देखि दमसाईलो हुदै झरेका बिरमाईला फाँटहरुले त्यहाँ देखिएको जमिनको रङ्ग जस्तै मेरो मन फुङ्ग उडि रहेका थिए ।  

    पवित्र भुमि – बेत्लेहेम माथिको आकाशमा मधुरो सुर्य पश्चिम दिशा ढल्कि सकेका थिए । तर त्यति लोभलाग्दो सुर्यास्तले मलाई पटक्कै आकर्षित गर्न सकेका थिएनन् । त्यसको सट्टा उत्तर दिशामा पर्ने नाजरथ लाई मैले धेरैबेर नियालेर हेरे । किनभने प्रभु येसु बेत्लेहेममा जन्मेका भएता पनि नाजरथमा हुर्केका थिए ।

    एक दिन प्रभुले आफ्ना १२ जना चेलाहरु सँग बशन्त ऋतुको पर्व ‘पासओभर’ मनाउदै हुनु हुन्थ्यो । त्यो पर्व यहुदिहरुले बिगत तीन हजार बर्ष देखि क्रमश: मनाउदै आएका थिए । पर्वको अन्तिम भोज “द लास्ट सपर” को बेला तिमीहरु मध्ये एकजनाले मलाई धोका दिनेछौ भनेर प्रभुले भविश्यबाणी गर्नु भएका थियो । नभन्दै जेसस खोज्दै हिडेका रोमन प्रहरीहरुको सामुन्ने आफ्नै चेला जुडास इसकारियटले उहाँको गालामा ‘कलङ्कित चुम्बन’ गरेर प्रहरीहरु लाई चिनाई दिएका थिए ।

    प्रहरीहरुले प्रभु लाई पक्रेपछि ‘प्रेक्टोरियम’ अदालतले मुद्दा छिनो फानो नगरिन्जेल सम्म कारागारमा राखे । उहाँलाई कारागारको पर्खालमा दुवै हात खुट्टा बाधेर राखिएका थिए । जेरुसेलमको त्यो भुमिगत कारागार अहिले सम्म पनि राम्ररि देख्न सकिन्थ्यो । अझै मलाई अचम्म त के लाग्यो भने त्यसबेला भगवानका सन्देश बाहक सँग दुई जना चोरहरु पनि सँग सँगै थुनिएर राखिएका थिए ।  

    प्रेक्टोरियम न्याय प्रणालिले प्रभुलाई हात गोडामा किला ठोकेर मृत्यदण्ड दिने घोषणा गर्यो । त्यसपछि मृत्युदण्डको लागि उहाँलाई डोलोरोसाको पादपथ हुदै हुदै गोलगोथा लगिएका थियो । डोलोरोसाको मृत्यु मार्गमा जादै गर्दा प्रभुले हातमा ‘क्रश’ बोकेर हिडि रहनु भएको थियो ।

    त्यो बिरमाईलो क्षणलाई सम्झदा मेरा नयनहरु भित्र भित्रै रसाएका मात्र थिएनन् । सुस्तरि सुस्तरि आँखा बाट आँशु बहन थालेका थिए । किनभने मेरो लागि “आँशु दु:खको मौन भाषा थियो ।” 

    “छोरा मान्छे भएर रुन हुदैन ।” ताराको तिखो स्वर अचानक मेरो कानमा बज्रदा म झसङ्ग भए ।  

    प्रभु येसुलाई क्रसमा झुन्डाएर गोलगोथामा मृत्युदण्ड दिईएको त्यो ठाँउ कहाँ होला भनेर ठ्याक्कै पत्ता लगाउन अहिले निक्कै हम्मे हम्मे पर्दथ्यो । तर जुन बेला प्रभुलाई मृत्युदण्ड दिईएको थियो त्यतिबेला उहाँ ३३-३४ बर्षको हुनु हुन्थ्यो ।   

    प्रभुको मृत्यु पश्चात आफ्नो चेला जोशेफले क्रश बाट उहाँको मृत शरिर निकालेका थिए । अनि चेलाहरुले नजिकै जमिन मुनि गाडि दिएका थिए । उहाँको शिष्यहरुले मृत शरिर चोर्छन भनेर रोमन प्रहरीहरुले तिन दिन सम्म कडा सुरक्षा दिएका थिए । तर तीन दिन पछि परम प्रभु परमेश्वर त्यहाँ बाट उठेर माथि माथि हावामा बिलिन भै सकेका थिए ।  

    (खोटाङको बुईपा घर भएका लेखक भिम राई अवकास प्राप्त बेलायती सैनिक हुन् । हाल अक्सफोर्ड, बेलायत ।)

     

    सम्बन्धित समाचार