शनिवार, आश्विन १७ २०७७
नेपाल वाइड
घर चर्किएपछि विस्थापित दहलकुमारीका लागि अस्थायी टहरा बनाउँदै गाउँपालिका अध्यक्ष भूपेन्द्र राई ।
खोटाङ । असोज १७, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा वर्षाका कारण घर चर्किएपछि विस्थापित भएकी एकल महिलाका लागि अस्थायी आवासको व्यवस्था मिलाइएको छ । गत असोज ४ गतेदेखि ७ गतेसम्म परेको अविरल वर्षाका कारण घर चर्किएर बस्नै नहुने भएपछि विस्थापित भएकी दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुकी एकल महिला दहलकुमारी राईका लागि अस्थायी आवास निर्माण गरिएको हो ।
दहलकुमारीको बसोबासका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईको संयोजनमा शनिबार श्रमदानबाट बाँसको टाँटीले बारेर त्रिपालको छाना हालेर अस्थायी टहरा बनाइएको वडा सदस्य अमृत गिरीले बताए । एकल महिलाको अस्थायी आवास निर्माणका लागि गाउँपालिका अध्यक्ष, वडाध्यक्ष पूर्णबहादुर खड्का, वडा सदस्य गिरी, तुलसकुमार राई लगायतले श्रमदान गरेका छन् ।
घर चर्किएर बस्नै नमिल्नेगरी कोल्टिएपछि हाल देवरको घरमा बसिरहेकी राईलाई गाउँपालिकाले गत बिहिबार राहत स्वरुप ३० हजार प्रदान गरेको थियो । श्रीमानको मृत्यु भइसकेको र भएकी एक्ली छोरीको विवाह भएपछि दहलकुमारी एक्लै बस्दै आएकी छन् । वर्षाका कारण जमिन गलेर भासिदा दहलकुमारीको घरको बीचभागबाट एक बित्ता फाटेको छ ।
जमिन भासिएका कारण घरको थाम बांगिनुका साथै घर कोल्टिएको छ । ‘घरको पर्खाल करिब एक वित्ता फाटेको छ, फर्किएर त्यही घरमा बस्न सकिने अवस्था छैन,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘अलि वर्षा भए जुनसुकैबेला घर ढल्ने खतरा छ । त्यही भएर अस्थायी आवासको व्यवस्थापन गरिदिएका हौँ ।’