शुक्रवार, आश्विन १६ २०७७
नेपाल वाइड
खोटाङ । असोज १६, खोटाङमा दुई जना प्रहरी जवानलाई कोरोना संक्रमण पूष्टी भएको छ । तालिममा गएर जिल्ला प्रहरी कार्यालय फर्किएका दुई जवानलाई कोरोना संक्रमण पूष्टी भएको हो । तालिममा गएकैबेला लकडाउन भएपछि दुहवी दंगा सुनसरीमा बसेर असोज ११ गते फर्किएका जवानलाई कोरोना संक्रमण पूष्टी भएको जिल्ला अस्पताल खोटाङले जनाएको छ ।
उनीहरुको असोज १२ गते स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागि टेकु पठाइएकामा बिहिबार पोजिटिभ रिपोर्ट आएको हो । दुहबीबाट आएसँगै जिल्ला प्रहरी कार्यालयको क्वारेन्टीनमा राखिएका जवानलाई संक्रमण पूष्टी भएको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालयकै आइसोलेसनमा राखिएको डिएसपी नारायणप्रसाद चिमरियाले बताए ।
सबै संक्रमितले कोरोना जितेपछि कोरोना संक्रमित रहित बनेको जिल्लामा पुःन दुई जना संक्रमित फेला परेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट २८ जनाको पिसिआर परिक्षणमा स्वाव पठाइएकामा दुई जना प्रहरीलाई संक्रमण भएको पूष्टी भएको हो ।
यसअघि सरुवा भएर जिल्ला प्रहरी कार्यालय आएका ७ जना प्रहरी जवानलाई कोरोना संक्रमण पूष्टी भएको थियो । यससँगै खोटाङमा पिसिआर परिक्षणमा पठाएकामध्ये कोरोना संक्रमण पूष्टी भएको संख्या २३ पुगेको छ ।
हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पिसिआर परिक्षणमा पठाइएकामध्ये १५ जना, हलेसी तुवाचुङ नगरपालिकामा ४ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १ जना, साकेला गाउँपालिकामा १ जना, ऐसेलुखर्क गाउँपालिकामा १ जना र बराहपोखरी गाउँपालिकामा १ जनालाई कोरोना संक्रमण पूष्टी भएको छ ।
१० स्थानीय तहमध्ये हालसम्म खोटेहाङ गाउँपालिका, रावाबेँसी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा कोरोना संक्रमित फेला परेको छैन । हालसम्म जिल्लामा १ हजार ६०८ जनाको आरडिटि परिक्षण गर्दा ३० जनाको रिपोर्ट पोजिटिभ देखिएको प्रशासनले जनाएको छ ।