बिहिवार, आश्विन १५ २०७७
नेपाल वाइड
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट सुर्खेत प्रादेशिक अस्पतालमा कार्यरत रहेर भेरी अस्पताल नेपालगञ्जमा उपचाररत डाक्टरको मृत्यु भएको छ ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँकेको खजुरा गाउँपालिका- ३ घर भएका ५९ वर्षका चिकित्सकको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
सापकोटा कर्णाली प्रादेशिक अस्पताल सुर्खेत कालागाउँमा चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जनकोरुपमा कार्यरत थिए । सुर्खेत प्रादेशिक अस्पतालमा कार्यरत रहेर भेरी अस्पताल नेपालगञ्जमा उपचाररत डाक्टर सापकोटा कोरोना संक्रमितको उपचारमा खटिनेक्रममा कोरोना संक्रमित भएका थिए ।
भदौ २९ गते संक्रमण पुष्टि भएका उनलाई श्वास फेर्न गाह्रो भएपछि नेपालगञ्जको भेरी अस्पतालमा असोज १ गते भर्ना गरिएको थियो । उनको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । डाक्टर सापकोटाले डायबेटिज र उच्च रक्तचापको औषधि नियमित रुपमा लिइरहेको र अस्पतालमा भर्ना हुँदा सुगर नियन्त्रणमा नभएको भेरी अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
उनी कोरोनाबाट ज्यान गुमाउने पहिलो डाक्टर हुन् ।