आइतवार, आश्विन ११ २०७७
नेपाल वाइड
खोटाङ । असोज ११, खोटाङका सबै कोरोना संक्रमितले कोरोना जितेका छन् । कोरोना भएको पूष्टि भएपछि उपचारका लागि धरान, बिराटनगर पठाइएका वा जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका २१ जनाले कोरोना जितेसँगै जिल्ला कोरोना संक्रमितमुक्त भएको छ ।
हाल स्थानीय तहमा पिसिआर परिक्षण जारी रहे पनि संक्रमित देखा परेका छैनन् ।
हालसम्म १ हजार ५७५ जनाको पिसिआर परिक्षण गर्दा २१ जनालाई कोरोना पोजिटिभ देखिएको तथा उपचारपछि फर्किसकेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ६४० जनाको पिसिआर परिक्षणमा पठाइएकामा १३ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । त्यसमध्ये ७ जना नेपाल प्रहरीका जवान रहेको प्रशासनले जनाएको छ ।

कोभिड-१९ सम्बन्धी जिल्ला प्रशासन कार्यालय खोटाङको तथ्याङ्क
यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा २५३ जनाको पिसिआर परिक्षण गर्दा ४ जनाको पोजिटिभ रिपोर्ट देखिएको थियो । यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १४६ जनाको पिसिआर परिक्षण गर्दा १ जना, साकेला गाउँपालिकामा ११२ जनाको पिसिआर परिक्षण गर्दा १ जना, ऐसेलुखर्क गाउँपालिकामा ७३ जनाको परिक्षण गर्दा १ जना र बराहपोखरी गाउँपालिकामा ५७ जनाको परिक्षण गर्दा १ जनालाई पोजिटिभ देखिएको थियो ।
१० स्थानीय तहमध्ये हालसम्म खोटेहाङ गाउँपालिका, रावाबेँसी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा कोरोना संक्रमित फेला परेको छैन । हालसम्म जिल्लामा १ हजार ६०८ जनाको आरडिटि परिक्षण गर्दा ३० जनाको रिपोर्ट पोजिटिभ देखिएको प्रशासनले जनाएको छ ।